जनकपुर- धनुषाको सबैला नगरपालिका–१२ का पूर्व वडाध्यक्ष प्रदिप महतो मृत अवस्थामा फेला परेका छन्।
इलाका प्रहरी कार्यालय सबैलाका अनुसार गणेशमान चारनाथ नगरपालिका–९ स्थित कमला सिँचाइ आयोजनाको पूर्वी नहरअन्तर्गत तीन नम्बर पुलमा उनको शव बुधबार राति करिब ११ बजे फेला परेको हो।



प्रहरीले घटनास्थलबाट १०/१२ वटा बियरलगायत अन्य मादक पदार्थका खाली बोतल बरामद गरेको जनाएको छ। प्रारम्भिक अनुमानअनुसार मृतकसहित आठ/नौ जनाको समूहले सामूहिक रूपमा मदिरा सेवन गरेको हुन सक्ने देखिएको छ।

इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक विजय दत्तले मृत्युको ठोस कारण हालसम्म खुल्न नसकेको जानकारी दिँदै विस्तृत अनुसन्धान तथा शव परीक्षणपछि मात्रै वास्तविकता बाहिर आउने बताए। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको उनले बताए।
घटनास्थलमा महतोसँगै रहेका भनिएका व्यक्तिहरू फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको पहिचान गरी खोजी कार्य तीव्र बनाइएको छ। साथै, प्रहरीलाई प्रारम्भिक सूचना दिने व्यक्ति पनि सम्पर्कविहीन रहेको जनाइएको छ।

महतो २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट सबैला नगरपालिका–१२ को वडाध्यक्षमा निर्वाचित भएका थिए।




