सुजाता राई
धनकुटा — सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल प्रतिष्ठान, इटहरीले विश्रान्तिधाम संस्कृत गुरुकुल, मुलघाट धनकुटालाई दुई लाख रुपैयाँ राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल स्मृति शिक्षा–संस्कृति पुरस्कार’ प्रदान गरेको छ।
भाषा, साहित्य, कला, धर्मसंस्कृति, शिक्षा र विज्ञान क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको हो।



पूर्वी क्षेत्रको प्राकृतिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण स्थलमा आयोजित समारोह कवितामय बनेको थियो। सुनसरी, मोरङ र धनकुटाका कविहरूले आ–आफ्ना सशक्त रचनाहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा मुकुन्द प्रयास, गोकुल अधिकारी, लोचन रिजाल, मञ्जुश्री गिरी, रमेशचन्द्र अधिकारी, टीका आत्रेय, मीनकुमार नवोदित, राधा भट्टराई, शकुन्तला मञ्जरी, निर्मला कुँवर र सञ्जय सयललगायतले कविता वाचन सुनाए ।

प्रतिष्ठानकी अध्यक्ष शान्ता रिजालको अध्यक्षता तथा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रतिष्ठानका निवर्तमान महासचिव भैरव रिजालले संस्थाको परिचय प्रस्तुत गरेका थिए भने अतिथिहरूलाई अध्यक्ष रिजालले स्वागत गरेकी थिइन्। वरिष्ठ समालोचक प्रा. डा. गोपाल भण्डारी, गुरुकुल सल्लाहकार स्वामी विजयानन्द सरस्वती, प्राज्ञ विवश पोखरेल, वडा नं. ९ का अध्यक्ष टंक रोयला, टीका रिजाल तथा प्राचार्य दिनेश अधिकारीलगायतले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन डा. मीरा आचार्य रिजालले गरेकी थिइन् भने धन्यवाद ज्ञापन सचिव सुधा रिजालले गरिन्।




