महोत्तरी – सशस्त्र प्रहरी बलले महोत्तरीको सीमावर्ती क्षेत्रमा भारततर्फ तस्करी हुँदै गरेको ठूलो परिमाणको चाइनिज स्याउ बरामद गरेको छ।
शनिबार राति करिब १ बजे विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले शंकास्पद रूपमा गुडिरहेका तीनवटा पिकअप गाडी रोकी जाँच गर्दा उक्त स्याउ नियन्त्रणमा लिएको हो।




सशस्त्र प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट ती स्याउ भन्सार छल्दै अवैध रूपमा भारततर्फ लैजान लागिएको खुलेको छ। बरामद गरिएको स्याउको परिमाण ठूलो रहेको र त्यसको बजार मूल्य लाखौँ रुपैयाँ बराबर हुन सक्ने अनुमान गरिएको छ। यसको आधिकारिक मूल्याङ्कन प्रक्रिया भने जारी रहेको जनाइएको छ।

घटनामा संलग्न चालक तथा सहयोगीमाथि सोधपुछ भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। साथै, उक्त स्याउ एक ‘सुनिल’ नामका व्यापारीसँग सम्बन्धित हुन सक्ने प्रारम्भिक जानकारी प्राप्त भए पनि उनको पूर्ण परिचय खुलाउन तथा अन्य संलग्न व्यक्तिको पहिचान गर्न थप अनुसन्धान भइरहेको छ।






