महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका–१२ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारका १० भन्दा बढी छात्रा अत्यधिक गर्मीका कारण बिरामी परेका छन् ।
आइतबार विद्यालयमा पठनपाठनका क्रममा छात्राहरूमा वाकवाकी लाग्ने, रिंगटा लाग्ने तथा बेहोस हुने लक्षण देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोषकुमार सिंहले जानकारी दिनुभयो ।



उहाँका अनुसार अत्यधिक गर्मीका कारण स्वास्थ्य समस्या देखिएका विद्यार्थीहरूको तत्काल उपचार गरिएको थियो । उपचारपछि सबै विद्यार्थीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू घर फर्किसकेको अध्यक्ष सिंहले बताउनुभयो ।
पछिल्ला केही दिनयता बढ्दो तापक्रम र अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बन्दै गएको छ । स्वास्थ्यकर्मीहरूले गर्मीबाट बच्न प्रशस्त पानी पिउन, घामको प्रत्यक्ष सम्पर्कबाट जोगिन तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।




