महोत्तरी – महोत्तरीको सोनमा गाउँपालिका–३ खखनामा गएराति घरमै सुतेका एक दम्पतीमाथि गोली प्रहार गरी हत्या प्रयास गरिएको छ। अनुहार छोपेर आएका ७–८ जनाको अज्ञात समूहले मध्यरातमा घरमा प्रवेश गरी गोली प्रहार तथा कुटपिट गरेको प्रहरीले जनाएको छ।

जिल्लाको पिपरा गाउँपालिका–२ अतरार स्थायी घर भई हाल ससुराली घर सोनमा–३ खखनामा बस्दै आएका सोनमा गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत २८ वर्षीय रामईश्वर यादव र उनकी २२ वर्षीया श्रीमती किरणकुमारी यादव घाइते भएका छन्।




जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार घटनास्थलमा घरभित्रका सामान छरपस्ट अवस्थामा फेला परेका छन्। घरको दराज तथा विभिन्न बाकस फुटाइएको र तिलहरी, हनुमानीलगायतका गरगहना लुटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। घटनामा डाँकाको उद्देश्य देखिए पनि विस्तृत अनुसन्धानपछि थप तथ्य खुल्ने प्रहरीको भनाइ छ।

घाइते दम्पतीलाई राति नै रामगोपालपुर नगरपालिका–९ स्थित जानकी एकेडेमिक अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयरमा पठाइएको थियो। उनीहरूको स्वास्थ्य अवस्था हाल स्थिर रहेको बताइएको छ।
पीडित रामईश्वर यादवले अज्ञात समूह घरभित्र प्रवेश गरी कुनै कुरा नगरी आफूलाई नियन्त्रणमा लिएर खुट्टा बाँधी कुटपिट गरेको र त्यसपछि गोली प्रहार गरेको बताए। आफूलाई बचाउन खोज्दा श्रीमतीमाथि पनि कुटपिट गरिएको र भाग्ने क्रममा उनको तिघ्रामा गोली लागेको उनले बताएका छन्।

प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी तथा थप अनुसन्धान भइरहेको जनाएको छ।






