महोत्तरी- अपहरणमा परेका भारतीय कपडा व्यवसायी राजकिशोर चौधरी नौ दिनपछि सकुशल घर फर्किएका छन्। भारतको बेला परिहारबाट अपहरणमा परेका चौधरीलाई अपहरणकारीहरूले नेपाल–भारत सीमाक्षेत्रअन्तर्गत महोत्तरीको जलेश्वर–लोहरपट्टी नजिक छाडेको बताइएको छ।
परिवार स्रोतका अनुसार चौधरीको जेठ १८ गते (१ जुन) अपहरण गरिएको थियो। अपहरणपछि उनलाई नियन्त्रणमा राखी फिरौती असुल्ने उद्देश्यले नेपालतर्फ ल्याइएको हुन सक्ने आशंका गरिएको छ।अपहरणकारीहरूले लोहरपट्टी नजिक छाडेपछि उनी परिवारको सम्पर्कमा आएका हुन्। यस घटनाले सीमावर्ती क्षेत्रमा आपराधिक गतिविधिका लागि नेपाली भूमि प्रयोग भइरहेको आशंकालाई थप बल पुगेको छ।



पछिल्ला घटनाहरूले नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै आपराधिक समूहहरूले अपहरण तथा फिरौतीजस्ता गतिविधि सञ्चालन गरिरहेको देखिएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरक्षाकर्मीहरूले घटनाको अनुसन्धान गरिरहेका छन् र संलग्न व्यक्तिहरूको खोजी जारी रहेको छ।
यसअघि करिब दुई वर्षअघि सोनवर्सा बजारका ३४ वर्षीय इँट्टाभट्टा व्यवसायी अभिषेक कुमार पनि अपहरणमा परेका थिए। अपहरणकारीहरूले उनलाई नेपाल ल्याई सुरुमा तीन करोड रुपैयाँ फिरौती माग गरेका थिए। पछि ५० लाख भारतीय रुपैयाँ (करिब ८० लाख नेपाली रुपैयाँ) लिएर सर्लाहीको संग्रामपुरस्थित नेपाल–भारत सीमाक्षेत्र नजिक मुक्त गरिएको बताइएको थियो।
स्थानीय व्यवसायीहरूले सीमावर्ती क्षेत्रमा बढ्दो अपहरण तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा निगरानी थप प्रभावकारी बनाउन र नेपाल–भारतबीच सुरक्षा समन्वयलाई सुदृढ बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।





