सुजाता राई
झापा । ‘एक साँझ युवा माझ’ कार्यक्रममा मोरङका स्रष्टा राज लम्साल यात्री प्रस्तुत भएका छन् । झापाली साहित्य समाजको सातौँ शृङ्खलामा गीतकार तथा गजलकार यात्री प्रस्तुत भएका हुन् ।




अग्रज स्रष्टा केशव आचार्यको बिर्तामोडको सैनिकमोडस्थित निवासमा सम्पन्न कार्यक्रममा यात्रीको हालसालै बाहिर आएको गजलकृति ‘यात्री’ को बारेमा विमर्शसमेत भएको थियो । गजलकार विवश बलिभद्र कोइरालाले कृतिका बारेमा आफ्नो धारणा प्रस्तुत गर्दै सङ्ग्रहभित्रका दुईओटा गजल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा यात्रीले कृतिको नामकरण तथा रचनागर्भका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा अग्रज स्रष्टाहरू केशव आचार्य र कृष्ण बराल, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, लीला अनमोल, तुलसीप्रसाद भट्टराई, डिल्लीराम चापागाईँ परदेशी, कृष्ण काश्यप, हरि पराजुली, ज्ञानु बुढाथोकी, मिलन सङ्ग्रौला, रोमा निरौलालगायतका तीन दर्जनभन्दा बढी स्रष्टा तथा कलाकारहरूको उपस्थिति रहेको थियो ।

विवेक निशानीले कार्यक्रमको औचित्यका बारेमा प्रस्ट पारेका थिए । केशव आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन भने झापाली साहित्य समाजका अध्यक्ष हरि बरालको रहेको थियो ।




