जनकपुरधाम । बेलायत सरकारको आर्थिक सहयोग, पिपुल इन निडको नेतृत्व तथा दिव्य विकास स्रोत केन्द्रद्वारा सञ्चालित सुरक्षा र न्याय कार्यक्रम अन्तर्गत परियोजना सल्लाहकार समिति बैठक तथा उपलब्धि हस्तान्तरण कार्यक्रम मधेश प्रदेशका पाँच स्थानीय तहमा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा जुन २०२४ देखि जुन २०२६ सम्म परियोजनामार्फत हासिल भएका उपलब्धि तथा वित्तीय प्रतिवेदन प्रस्तुत गरिएको थियो। छलफलका क्रममा समुदायमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यसम्बन्धी जनचेतना अभिवृद्धि, सेवा पहुँच विस्तार, पीडितमैत्री सेवा प्रवाह, न्यायमा पहुँच वृद्धि तथा हिंसाविरुद्ध बोल्ने वातावरण निर्माणमा परियोजनाले महत्वपूर्ण योगदान पुर्याएको निष्कर्ष निकालियो।




त्यसैगरी स्थानीय तथा विद्यालयस्तरमा गठन गरिएका बालिका तथा समावेशी शिक्षा सञ्जाल र गुनासो सुनुवाइ संयन्त्र मार्फत बालिका तथा समावेशी शिक्षाको प्रवर्द्धन, विद्यालयमा सुरक्षित वातावरण निर्माण तथा संस्थागत अभ्यास सुदृढ भएको समीक्षा गरिएको थियो।

कार्यक्रममा पिपुल इन निडका परियोजना प्रबन्धक सुनिल कुमार साहले परियोजनाबाट प्राप्त उपलब्धि, सिकाइ तथा अन्तिम प्रतिवेदन सम्बन्धित स्थानीय तहलाई औपचारिक रूपमा हस्तान्तरण गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गरी दीगो रूपमा अगाडि बढाउन आग्रह गर्नुभयो।
स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूले न्यायिक समितिको सुदृढीकरण, लैङ्गिक हिंसा रोकथामसम्बन्धी नीति तथा कार्यविधिको कार्यान्वयन, आवश्यक बजेट व्यवस्थापन तथा परियोजनाबाट स्थापित सफल अभ्यासलाई आगामी वार्षिक योजना तथा कार्यक्रममा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमको समापनमा आयोजकले परियोजनाको सफल कार्यान्वयनमा सहयोग पुर्याउने स्थानीय सरकार, नेपाल प्रहरी, विद्यालय, सेवा प्रदायक संस्था, समुदायमा आधारित संघसंस्था तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको थियो।

बाराको सिम्रौनगढ नगरपालिका, सर्लाहीको बरहथवा नगरपालिका, धनुषाको जनकपुरधाम उपमहानगरपालिका तथा महोत्तरीका जलेश्वर र लोहारपट्टी नगरपालिकामा आयोजित कार्यक्रममा स्थानीय सरकारका जनप्रतिनिधि, नेपाल प्रहरी, विद्यालय, समुदायमा आधारित संघसंस्था तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा लैगिंक हिंसा रोकथाम र प्रतिकार्यको लागि सुरक्षा र न्याय कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेकोले कार्यक्रम सञ्चालित स्थानीय तहले परियोजनामा कार्यरत कर्मचारीहरु धन्यवाद सहित सम्मान समेत गरेको थियो । साथै जनकपुरधाम उपमहानगरपालिकामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नगर प्रमुख मनोज साहले भने यस्तो हानिकारक परम्परागत अभ्यासहरुलाई निर्मुल गर्नका लागि नागरिक संघसंस्थाहरुको भुमिका महत्वपुर्ण रहेकोले अगामी दिनमा पुन ःसहकार्यका लागि स्थानीय सरकार तयार रहेको वताए ।




