सुजाता राई
विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजनामा खेलकुदका सरोकारवाला, निजी क्षेत्र तथा ख्यातिप्राप्त खेलकर्मीहरूसँग ‘अन्तरक्रिया तथा छलफल कार्यक्रम–२०८३’ सोमबार विराटनगरमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै बोर्डका अध्यक्ष तथा कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतो (तेजु) ले खेलकुद क्षेत्रको समग्र विकासका लागि सरकारी निकाय, निजी क्षेत्र र खेलकर्मीबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले खेलाडीको क्षमता विकास, खेल पूर्वाधार विस्तार तथा खेलकुदलाई व्यावसायिक बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे।




कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका भौतिक पूर्वाधार तथा निर्माण मन्त्री प्रदीप सुनुवार ले खेल पूर्वाधार निर्माण र खेलकुद विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए।
कार्यक्रममा कोशी उद्योग परिसंघ विराटनगरका अध्यक्ष हरि शर्मा, नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका सदस्य भवेशकुमार श्रेष्ठ तथा खेलकुद पत्रकारका तर्फबाट नवीन ढकाल ले खेलकुदको दिगो विकासका लागि सरकारी र निजी क्षेत्रबीच प्रभावकारी साझेदारी आवश्यक रहेको धारणा व्यक्त गरे।
प्रदेश खेलकुद विकास बोर्डका सचिव विप्लव घोषले बोर्ड, खेलाडी तथा सञ्चारकर्मीबीच प्रभावकारी समन्वय हुन सके खेलाडीमा थप ऊर्जा प्राप्त हुने र बोर्डको गरिमा तथा प्रतिष्ठा पनि अझ सुदृढ हुने विश्वास व्यक्त गरे। उनले बोर्डका तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै आगामी दिनमा खेलकुद क्षेत्रको विकासका लागि सबै पक्षबीच सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल ले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन चेतनाथ पौडेल ले गरेका थिए।
कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाबाट खेलकुदका सरोकारवाला, निजी क्षेत्रका प्रतिनिधि, खेलाडी, प्रशिक्षक, खेल पत्रकार तथा विभिन्न राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।




