विजयकुमार साह
ढल्केबर (धनुषा) । धनुषाको कमला नगरपालिका–४ स्थित बरेबा गाउँमा पाँच दशकभन्दा बढी समयदेखि स्थानीय बासिन्दाले प्रयोग गर्दै आएको सार्वजनिक बाटोमा पक्की पर्खाल निर्माण गरिएपछि ५० भन्दा बढी घरपरिवारलाई आवतजावतमा कठिनाइ भएको छ । स्थानीयका अनुसार पूर्वप्रधानपञ्च रामउद्गार यादवले बाटो बन्द हुने गरी पर्खाल निर्माण गर्नुभएको हो ।



स्थानीय सितेश यादवले बरेबा गाउँ प्रवेश गर्ने मुख्य बाटोमै पर्खाल निर्माण गरिएकाले पर्खालभन्दा उत्तरतर्फका बासिन्दालाई घरसम्म पुग्न समस्या भइरहेको बताउनुभयो । उहाँले सो बाटो औपचारिक रूपमा नक्सामा कायम नभए पनि वर्षौँदेखि करिब नौ फिट चौडाइको सार्वजनिक बाटोका रूपमा स्थानीयले प्रयोग गर्दै आइरहेको जानकारी दिनुभयो ।
अर्का स्थानीय जोगिन्द्र यादवले करिब पाँच दशकदेखि प्रयोग हुँदै आएको सार्वजनिक बाटो मिचेर घर निर्माणका लागि पर्खाल लगाएपछि स्थानीयलाई आवतजावत गर्न समस्या भएको बताउनुभयो । उहाँले चार दिनअघि पर्खाल निर्माण गरिएको बताउँदै पर्खालभन्दा उत्तरतर्फका बासिन्दालाई दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न, बालबालिकालाई विद्यालय पठाउन र बिरामीलाई अस्पताल लैजानसमेत कठिनाइ भइरहेको जानकारी दिनुभयो । उहाँले वर्षौँदेखि प्रयोग हुँदै आएको सार्वजनिक बाटो बन्द हुँदा दैनिक जनजीवन प्रभावित भएको भन्दै तत्काल बाटो खुलाउने व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्नुभयो ।
यता रामउद्गार यादवले भने अहिले बाटोमा देखिएको जग्गा आफ्नो स्वामित्वमा रहेकाले घर निर्माणका लागि पर्खाल लगाएको दाबी गर्नुभयो । उहाँले दुई वर्षअघि पनि पर्खाल निर्माणका क्रममा विवाद उत्पन्न भएपछि अदालतमा मुद्दा परेको र अदालतको फैसलाअनुसार जग्गा उपयोग गर्न सकिने निर्णय भएकाले सोही आधारमा निर्माण कार्य अघि बढाइएको बताउनुभयो ।
कमला नगरपालिका–४ का वडाध्यक्ष दीपक गोहिबारले यस विवादबारे आफूलाई जानकारी रहेको बताउँदै सबै पक्षसँग छलफल गरेर समाधान खोज्न पहल थालिएको बताउनुभयो । उहाँले सोमबार दुवै पक्षलाई वडा कार्यालयमा बोलाएर छलफल गरिने जानकारी दिनुभयो । वडाध्यक्ष गोहिबारले आवश्यक कागजात अध्ययन गरी स्थानीय बासिन्दाको आवतजावत सहज हुने गरी विवाद समाधानका लागि पहल गरिने बताउनुभयो ।





