ढल्केवर । धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग गर्दै भइरहेको आन्दोलनमा शनिबार सांसद तथा जनप्रतिनिधिसमेत सडकमा उत्रिएका छन् ।
ढल्केवरका लागि अघि बढिसकेको ट्रमा सेन्टरको योजना अन्यत्र सार्न खोजिएको भन्दै स्थानीयले थालेको आन्दोलनमा जनप्रतिनिधिले ऐक्यबद्धता जनाउँदै विरोध प्रदर्शनमा सहभागी भएका हुन् ।




स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले गत मंगलबार प्रतिनिधिसभाको बैठकमा मधेश प्रदेशमा ट्रमा सेन्टर लहानमा निर्माण हुने बताएपछि ढल्केवरमा स्थानीयको आन्दोलन चर्किएको हो । ढल्केवरमै ट्रमा सेन्टर निर्माण गर्ने गरी प्रक्रिया अघि बढिसकेको अवस्थामा योजना अन्यत्र सार्न खोजिएको स्थानीयको आरोप छ ।
मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोको नेतृत्वमा गठित ‘ढल्केवर ट्रमा सेन्टर संरक्षण सङ्घर्ष समिति’ले बिहीबार धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएर आन्दोलन सुरु गरेको थियो । आन्दोलनको तेस्रो दिन शनिबार निकालिएको विरोध र्यालीमा प्रतिनिधिसभा सदस्य डा. चन्द्रमोहन यादव तथा प्रदेशसभा सदस्यहरू हरिनारायण महतो, शेषनारायण यादव र कुमरकान्त झा सहभागी भएका थिए ।

त्यस्तै मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो र उपप्रमुख सुनिता सिंह बुढाथोकीसहित स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । प्रदर्शनकारीले ढल्केवरमै ट्रमा सेन्टर निर्माण हुनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए । प्रदर्शनका क्रममा स्वास्थ्यमन्त्री मेहताको राजीनामासमेत माग गरिएको थियो ।
विरोध र्यालीलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य डा. चन्द्रमोहन यादवले ढल्केवरमा ट्रमा सेन्टर निर्माणको मागलाई संसद्मा सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाउनुभयो । स्थानीयको माग सम्बोधन नभएसम्म शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो ।
प्रदेशसभा सदस्य हरिनारायण महतोले ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि यसअघि अघि बढाइएको प्रक्रियालाई निरन्तरता दिन सरकारसँग आग्रह गर्नुभयो । स्थानीयको मागलाई बेवास्ता गरेर योजना अन्यत्र सार्ने प्रयास गरिए आन्दोलन थप सशक्त बनाउने चेतावनी उहाँले दिनुभयो ।
प्रदेशसभा सदस्य कुमरकान्त झाले ढल्केवरमा ट्रमा सेन्टर स्थापना गर्ने विषयमा कुनै प्रकारको फेरबदल नगर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले माग सम्बोधन नभए प्रदेशसभामा समेत यस विषयलाई सशक्त रूपमा उठाउने बताउनुभयो ।

मधेश प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहनुभएका प्रदेशसभा सदस्य शेषनारायण यादवले ढल्केवरमा ट्रमा सेन्टर निर्माणको मागमा आफ्नो निरन्तर समर्थन रहने बताउनुभयो । सरकारले ढल्केवरमै ट्रमा सेन्टर निर्माण गर्ने स्पष्ट प्रतिबद्धता नजनाएसम्म आन्दोलन जारी राख्नुको विकल्प नरहेको उहाँको भनाइ थियो ।

ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि सङ्घीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा पहिलो पटक बजेट विनियोजन गरेको थियो । मिथिला नगरपालिका–७ स्थित साविक ढल्केवर गाविस–२ ‘क’ को कित्ता नं. १६९ मा रहेको करिब चार बिघा जग्गालाई योजनाका लागि प्रयोग गर्ने गरी प्रक्रिया अघि बढाइएको बताइएको छ ।
मिथिला नगरपालिकाका नगरप्रमुख महतोका अनुसार ट्रमा सेन्टरका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया पूरा भइसकेको छ । जग्गाको लालपुर्जासमेत तयार भइसकेको अवस्थामा निर्माणको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
“योजना ढल्केवरमै निर्माण गर्ने गरी बजेट विनियोजनदेखि जग्गा प्राप्तिसम्मको प्रक्रिया अघि बढिसकेको छ,” उहाँले भन्नुभयो, “शिलान्यासको तयारी भइरहेका बेला मन्त्रीको अभिव्यक्तिले अन्योल सिर्जना गरेपछि स्थानीय आन्दोलनमा उत्रिन बाध्य भएका हुन् ।”

ढल्केवर पूर्व–पश्चिम राजमार्गसँग जोडिएको तथा महोत्तरी, धनुषा र आसपासका जिल्लाका नागरिकको आवागमन हुने क्षेत्र भएकाले यहाँ ट्रमा सेन्टर आवश्यक रहेको स्थानीयको भनाइ छ । दुर्घटनामा घाइते हुनेको तत्काल उपचारका लागि राजमार्ग आसपासमा ट्रमा सेन्टर स्थापना गर्नुपर्ने माग स्थानीयले गर्दै आएका छन् ।
ट्रमा सेन्टरको विषयमा स्थानीयसँगै सांसद तथा जनप्रतिनिधि पनि प्रत्यक्ष रूपमा आन्दोलनमा सहभागी भएपछि सरकारमाथि राजनीतिक दबाब बढेको छ । आन्दोलनकारीले ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने निर्णय कार्यान्वयनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।





