पशुपतिनगर,महोत्तरी – महोत्तरीको बर्दिवास नगरपालिका- ९, पशुपतिनगर स्थित श्री राष्ट्रिय मध्यमिक विधालय पशुपतिनाथ बनरझुल्ला विद्यालयको इतिहासमा पहिलो पटक औपचारिक रूपमा शिक्षक-अभिभावक संघको कार्यकारी समिति गठन गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा अभिभावकहरूको व्यापक उपस्थितिमा उक्त ऐतिहासिक निर्णय गरेको हो। भेलाले अभिभावकहरू मध्येबाट मुनिया देवीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक-अभिभावक संघ सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक सुर्य नारायण दास रहनुभएको छ भने सदस्यहरूमा अभिभावक र शिक्षक प्रतिनिधिहरू चयन हुनुभएको छ।



नवनिर्वाचित अध्यक्षले विद्यालयको शैक्षिक वातावरणलाई थप सुदृढ बनाउन र विद्यार्थीहरूको चौतर्फी विकासका लागि अभिभावकहरूको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै प्रधानाध्यापकले विद्यालयको इतिहासमै पहिलो पटक गठन भएको यो संघले आगामी दिनमा विद्यालयलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण मार्गदर्शकको भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको शिक्षा नियमावली अनुसार, विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधार गर्न, शैक्षिक तथा प्रशासनिक क्रियाकलापमा पारदर्शीता ल्याउन र विद्यालय एवं घरको वातावरणबीच सुमधुर समन्वय कायम गर्ने उद्देश्यले यो संघ गठन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत कुमार महतोले जनाएको छ।




