जनकपुरधाम । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ६ सय २६ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेसम्म विभिन्न जिल्लामा मानव अङ्गसहित ६ सय २६ जनाको शव फेला परेको हो ।



बाढीमा परी सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । चितवनमा मात्रै २ सय ३३ जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ । त्यस्तै, नवलपरासी पूर्वमा १ सय ५८, नवलपरासी पश्चिममा ४७, नुवाकोटमा ५१, गोरखामा ४८, धादिङमा ४५, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको छ ।
बाढीपछि अझै २ हजार ४ सय २६ जना सम्पर्कविहीन छन् । बेपत्तामध्ये ठूलो संख्या जलविद्युत् आयोजनामा कार्यरत कामदारको रहेको छ । आयोजनाबाट मात्रै ९ सय ३३ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
यस्तै, सुरक्षाकर्मीतर्फ नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना बेपत्ता छन् । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार रसुवामा ५ सय ६२, नुवाकोटमा १ सय १५ र मकवानपुरमा ६५ जना सम्पर्कविहीन छन् ।
बाढीमा विदेशी नागरिक ५ सय १७ जना र विदेशमा बसोबास गर्ने नेपालीमध्ये बिदा मनाउन नेपाल आएका १ सय २७ जनाको अवस्थासमेत अज्ञात रहेको छ । भन्सार कार्यालयका १५, अध्यागमनका ४ तथा लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि बेपत्ताको सूचीमा छन् ।
प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि १५ हजार २ सय २४ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ६ हजार ७ सय ५५, नेपाल प्रहरीका ४ हजार ८ सय ११ र सशस्त्र प्रहरी बलका ३ हजार ६ सय ५८ जना छन् ।
हालसम्म ४ हजार ४ सय ५१ जनाको जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये १ सय ९१ जनालाई जलविद्युत् आयोजनाका सुरुङबाट सुरक्षित निकालिएको प्राधिकरणले जनाएको छ । शनिबार मात्रै ५ सय १७ जनाको हवाई उद्धार गरिएको छ ।
विदेशी नागरिकतर्फ १ सय २९ जनालाई सुरक्षित स्थानमा सारिएको छ । नेपाली सेना र निजी क्षेत्रका १६ वटा हेलिकप्टरमार्फत हवाई उद्धार तथा राहतका लागि ९९ उडान गरिएको छ ।
बाढीमा घाइते भएका १ सय १ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने उनीहरूको उपचारका लागि सर्जिकल मेडिकल टिमसमेत परिचालन गरिएको छ ।
बाढीका कारण सञ्चार संरचनामा पनि ठूलो क्षति पुगेको छ । १ सय ९८ वटा टेलिफोन टावरमा क्षति पुगेकोमा मर्मतपछि १ सय ४४ वटा पुनः सञ्चालनमा आएका छन् ।
सरकारले प्रभावित जिल्लामा राहत वितरणलाई पनि तीव्रता दिएको छ । रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ । त्यस्तै, १५ वटा स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ पठाइएको प्राधिकरणले जनाएको छ ।
प्रभावित क्षेत्रमा हालसम्म ३७ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ । हेलिकप्टरमार्फत सात उडान गरी थप राहत सामग्री तथा सञ्चार उपकरणसमेत प्रभावित क्षेत्रमा पुर्याइएको छ ।
उद्धार तथा राहत कार्यलाई निरन्तरता दिन इन्धनको व्यवस्थापनसमेत भइरहेको छ । नुवाकोटका विभिन्न आयल स्टोरमा ४१ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको छ ।
हवाई इन्धनतर्फ ३९ हजार लिटर नुवाकोट पठाइसकिएको छ भने हाल ८ हजार लिटर मौज्दात छ। थप ९ हजार लिटर हवाई इन्धन बाटोमा रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका कामलाई समन्वय गर्दै निरन्तरता दिइरहेको जनाएको छ ।




