धनुषा — धनुषाको तिनकौरियाबाट १८ महिने बालक बेपत्ता भएपछि प्रहरीले खोजी तथा अनुसन्धानलाई तीव्र बनाएको छ ।
तिनकौरिया निवासी कमलेश महतोका १८ महिने छोरा सिद्धांश महतो बेपत्ता भएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो । जानकारी प्राप्त हुनासाथ प्रहरीले बालकको खोजी सुरु गरेको जनाएको छ ।



प्रहरीका अनुसार घटनास्थल आसपासमा रहेका सीसीटीभी क्यामेराको फुटेजमा एक महिलाले बालकलाई लिएर गएको देखिएको छ । उक्त दृश्यका आधारमा प्रहरीले बालकलाई लिएर जाने महिलाको पहिचान तथा सम्भावित गन्तव्यबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।
बालकको खोजीका लागि प्रहरीले तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरेको छ । खोजी टोलीले तिनकौरिया आसपासका क्षेत्रका साथै सम्भावित स्थानमा खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
बालकलाई सीमावर्ती क्षेत्रतर्फ लैजाने सम्भावनालाई समेत ध्यानमा राख्दै प्रहरीले सीमा नाका तथा आसपासका क्षेत्रमा निगरानी बढाएको छ । सम्भावित नाकामा रहेका प्रहरी युनिटलाई समेत बालकको हुलियासहित आवश्यक जानकारी गराइएको प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी प्रमुख एसपी रुपेश खड्का आफैँ फिल्डमा खटिएर खोजी कार्यको नेतृत्व गरिरहनुभएको छ । प्रहरीले विभिन्न सम्भावित स्थानमा खोजी तीव्र पार्नुका साथै सीसीटीभी फुटेज तथा अन्य उपलब्ध सूचनाका आधारमा घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीले बालकको अवस्था र घटनामा संलग्न व्यक्तिबारे अनुसन्धान जारी रहेकाले हालसम्म थप विवरण सार्वजनिक नगरेको जनाएको छ ।
प्रहरीले बालकबारे कुनै जानकारी प्राप्त भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।




