काठमाडौं – नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको समितिमा रहेकालाई केन्द्रीय समितिमा आउने बाटो खुलाएको छ ।
आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशन पछिको नयाँ समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्नेगरी निर्णय गरेको हो ।



‘सबैलाई केन्द्रीय समितिमा बस्नेगरी आह्वान हुन्छ । केन्द्रीय समितिमा आएर महाधिवेशनको आयोजक समितिकै रुपमा रहनुहुन्छ,’ बैठकपछि एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘महाधिवेशनमा सहभागी हुन अपिल गर्दछौं । केन्द्रीय समितिमा बस्न चाहनेहरू आउनुहुन्छ । नचाहनेहरू आउनुहुन्न होला ।’
कांग्रेसले १६ देखि १९ असोजसम्म १५ औं महाधिवेशनको मिति तोकेको छ । असोज ३ र ४ गते वडा तहको अधिवेशनको मिति तोकिएको छ ।
कांग्रेस संस्थापनले गत पुससम्म नवीकरण गरेका सबै क्रियाशीलाई मान्यता दिने निर्णय गरेको छ ।




