सुजाता राई
संविधान दिवस २०८३ को अवसरमा कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा प्रदेशस्तरीय महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा सुरु भएको छ।



विराटनगरस्थित शहीद रंगशालाको ब्याडमिन्टन कभर्डहलमा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन सामाजिक विकासमन्त्री गीता तिम्सिनाले गरेकी हुन्।
उद्घाटन कार्यक्रममा बोर्डका सदस्यसचिव विप्लव घोष, बोर्डका सदस्य तथा कर्मचारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्षलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।
असोज १ र २ गते सञ्चालन हुने प्रतियोगितामा पुरुष डबल्सतर्फ ६४ जना र महिला डबल्सतर्फ ८ जनाले प्रतिस्पर्धा गर्दैछन्। सार्वजनिक खेल तालिकाअनुसार पुरुष तथा महिला डबल्सका खेल नकआउट प्रणालीमा सञ्चालन हुनेछन्।

उद्घाटन कार्यक्रममा सामाजिक विकासमन्त्री तिम्सिनाले संविधान दिवसलाई सफल बनाउन खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै प्रतियोगितामा सहभागी खेलाडीलाई सफलताको शुभकामना दिदै आफू खेल क्षेत्रमा विज्ञ नभए पनि खेलप्रति उत्साह र मनोरञ्जनको भावना रहेको उल्लेख गर्दै उनले सामाजिक विकास मन्त्रालयमार्फत खेलकुद क्षेत्रको सुधार र व्यावहारिक विकासका लागि आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा उपाध्याय बसन्तराजले स्वागत मन्तव्य दिएका थिए भने सञ्चालन सीपी पौडेलले गरेका थिए।
प्रतियोगितामा खेलाडी, प्रशिक्षक, निर्णायक, बोर्डका पदाधिकारी तथा खेलप्रेमीहरूको सहभागिता रहेको थियो।





