
विशाल बस्नेत/ महोत्तरी -
कहिलेकाहीँ तल्लो पेट दुखे तापनि बिजलपुराकी २२ वर्षीया सुजितादेवी दासलाई के भएको थियो भन्ने पनि थाहा थिएन। १७ वर्षको उमेरमा विवाह गरेकी दास १८ वर्षको उमेरमै गर्भवती बनिन्। तर, केही महिनामा नै पेटको बच्चा खेर गयो। गरिब परिवारकी दासले गर्भपतन हुँदा पनि पर्याप्त आराम गर्न पाइनन्।

‘भारी बोक्ने, खनजोतमा सहभागी हुनेजस्ता गह्रौँ काम गर्न हुँदैन भन्ने अज्ञानताका कारण दासको पाठेघरको समस्या दोस्रो स्टेजमा प्रवेश गरेछ’, शिविरमा समस्या पहिचानमा खटिएका वरिष्ठ स्त्रीरोग विशेषज्ञ दीपककुमार साहले वताए। दासले जब स्वास्थ्य शिविर पुगेपछि पाठेघरमा समस्या छ भन्ने थाहा पाइन्, तब उनलाई छाँगाबाट खसेजस्तै भयो।
अहिले घरमा बच्चा पाउन उलनाई कर गरिरहेका छन् तर चिकित्सकहरूका अनुसार पाठेघरको अपरेसन गरेर पूर्ण रूपमा ठिक नभए बच्चाको योजना बनाउन मिल्दैन।
लायन्स क्लब अफ बर्दिबास र बर्दिबास नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन भएको उक्त शिविरमा झण्डै ४०० जना महिलाले दासको जस्तै उपचार र रोगको पहिचान गर्ने मौका पाए।

बिजलपुराकै ६० वर्षीया सिकिलादेवीको आङ झर्ने समस्या भएको झण्डै एक दशक हुन लाग्यो। १० वर्षसम्म सिकिलादेवी लाज हुने डरले कुनै स्वास्थ्य संस्थामा गइनन् । समस्या झनझन बढ्दै गयो। उनले पीडालाई लाजकै डरले कहीँ कतै भनिनन्।
बिहीबार नगर र लायन्स क्लबले आयोजना गरेको सोही निःशुल्क शिविरमा सिकिलादेवी अप्ठ्यारो मान्दै पुगिन्। उस्तै समस्या लिएर उक्त शिविरमा पुगेका महिलाहरू देखेपछि सिकिलादेवीमा पनि आत्मबल बढ्यो।

उनले स्वास्थ्यकर्मीहरूलाई सबै समस्या जस्ताको तस्तै राखिन्। त्यसपछि स्वास्थ्यकर्मीहरूले जाँच गर्दा आङ खस्ने समस्या तेस्रो स्टेजमा प्रवेश गरेको निष्कर्ष निकाले, जुन स्वास्थ्यको दृष्टिकोणले निकै खतरा हो।
स्वास्थ्यकर्मीहरूका अनुसार आङ खस्ने समस्याका ३ वटा स्टेज हुन्छन् । तेस्रो स्टेजमा पुगेपछि मुखमा क्यान्सरको समेत खतरा हुन्छ । समस्याले दोस्रो र तेस्रो स्टेजमा प्रवेश गरेपछि अपरेसन गर्नै पर्ने हुन्छ ।
अहिले सिकिलादेवीलाई पनि स्वास्थ्यकर्मीहरूले तुरुन्त अपरेसन गर्ने सल्लाह दिएका छन्। सिकिलादेवीलाई मधुमेह पनि छ। ‘खै, सुगर छ, अपरेसन गर्न हुन्छ कि हुँदैन’, उनले चिन्ता व्यक्त गर्दै भनिन्।

सिकिलादेवीले जस्तै ४५ वर्षीया कुस्मा महतोले पनि शिविरमा आएपछि निकै राहत महसुस गरेकी छन् । २ वर्षदेखि आङ खस्ने समस्याबाट पीडित कुस्मालाई सामान्य समस्या भएको हुनाले स्वास्थ्यकर्मीहरूले शिविरमै रिङ हालिदिए।
कुस्माका ५ जना छोराछोरी छन्। गरिबीका कारणले कुस्माले उमेर हुँदा निकै काम गर्नुपर्यो । गह्रौँ भारी उचाल्नेदेखि धेरै काम गरेको परिणाम नै कुस्माको आङ खस्ने समस्या बनिदियो। ५० वर्षीया रेमु खातुनको पनि उस्तै समस्या छ । उमेरमा गरेको दुःख बुढेसकालमा भोगेको उनको भनाइ छ।
पेसाले कृषि कर्म गर्ने खातुनले पनि मेलापात, घाँस–दाउरा गर्दा धेरै दुःख गरेको अनुभव छ। ५ जना छोराछोरीलाई हुर्काउन गरेका कष्टहरू सम्झिँदा खातुन अहिले पनि अवाक् हुन्छिन्।
सिकिलादेवी, कुस्मा, सुजिता र रेमा खातुन त प्रतिनिधि पात्र मात्र हुन् । बिहीबार उनीहरू जस्तै करिब ४०० जना महिलाले शिविरमा आफ्नो रोगको पहिचान मात्र गराएनन्, तुरुन्त उपचार सेवा समेत पाए।
मधेस प्रदेशका विभिन्न जिल्लामा यसअघि सञ्चालन गरेको शिविरभन्दा बिजलपुरामा महिलाहरूको प्रजनन स्वास्थ्य भयावह रहेको जनस्वास्थ्य निरीक्षक विजयकुमार सिंहले जानकारी दिए।
४०० जनामा परीक्षण गर्दा ४१ जनाको अपरेसन गर्नुपर्ने, ७ जनाको थर्मा भुलेसन गर्नुपर्ने, ७ जनालाई क्यान्सरको सम्भावना रहेको पाइएको शिविरकी परिचारिका रूपा कर्माचार्यले बताइन् । प्रजनन स्वास्थ्य परीक्षण गराएका १५० जनाभन्दा बढीमा आङ खस्ने समस्या रहेको शिविरले जनाएको छ।
शिविर महिलाहरूका लागि उपचारको सहारा बनेको बताउँदै प्रदेशसभा सदस्य शारदादेवी थापाले यस्ता खालका थप शिविर सञ्चालन गर्न आवश्यक रहेको महसुस भएको बताइन् । ‘लाज मान्ने र रोग लुकाउने समस्याले महिलाहरू थप प्रताडित बनेका छन् तर शिविरको माध्यमबाट महिला सहभागिता मात्र भएपछि आत्मविश्वास बढ्दो रहेछ, जसका कारण शिविरमा आएर महिलाहरू खुले अनि उपचार पाए’, थापाले भनिन्।