धनुषाको धनुषाधाम नगरपालिका–८ धारापानी बजारबाट खैरो हेरोइनजस्तो देखिने २७ दशमलव ९१० ग्राम पदार्थसहित एक युवा र एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका–२ का २६ वर्षीय नितेशकुमार महतो र १६ वर्षीय एक बालक छन्।
धारापानी बजारमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय यज्ञभूमि र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको हो।



जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो करिब ४ः१० बजे गरिएको चेकजाँचका क्रममा दुवै जनाको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको थियो। प्रहरीले बरामद पदार्थको तौल गर्दा २७ दशमलव ९१० ग्राम रहेको जनाएको छ।
पछिल्लो समय लागुऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि प्रहरीले विभिन्न स्थानमा निगरानी र चेकजाँच बढाइरहेका बेला धारापानी बजारबाट उक्त पदार्थ बरामद भएको हो।
प्रहरीले बरामद पदार्थ लागुऔषध नै भए–नभएको यकिन गर्न आवश्यक परीक्षण अघि बढाएको जनाएको छ। पदार्थको परीक्षणको परिणामपछि घटनाको कानुनी प्रक्रिया थप अघि बढाइने प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका दुवै जनामाथि घटनाको प्रकृति, पदार्थको स्रोत तथा सम्भावित कारोबार सञ्जालबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीले घटनासँग सम्बन्धित अन्य व्यक्ति तथा पक्षको संलग्नताबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।




