सुजाता राई
मोरङ । मोरङ, बेलबारीका स्रष्टा केशु विरही र नवराज पोखरेल ‘नवशिलाT’ का दुई बाल साहित्यिक कृति १०१ जना बालबालिकाका हातबाट लोकार्पण गरिएको छ । सुन्दरहरैँचा –१०, मोरङमा रहेको रोजाइ इनोभेटिभ स्कुलको सभाहलमा आयोजित कार्यक्रममा विरहीको ‘उपहार’ (बाल चित्रकथा) र नवशिलाको ‘परी भए म’ (बाल कवितासङ्ग्रह) कृतिको ससाना नानीबाबुहरूका हातबाट एकैसाथ लोकार्पण गरिएको हो ।
यी दुवै कृतिलाई कोसी साहित्य–कला परिषद् नेपालले हालसालै प्रकाशनमा ल्याएको हो ।



अग्रज स्रष्टा तथा भाषाविद् अमृतप्रसाद आचार्यले बालबालिकाका लागि लेखिएका कृति उनीहरूकै हातबाट लोकार्पण गराउनु राम्रो अभ्यासको सुरुआत भएको बताए । सुकुना माविका पूर्व प्रधानाध्यापकसमेत रहेका आचार्यले यी दुवै कृतिले पठन संस्कृतिको विकासमा सहयोग पुर्याउने आशा पनि व्यक्त गरे । कार्यक्रममा लोकार्पित दुवै कृतिमाथि कवि तथा आख्यानकार छवि वैरागी घिमिरेले समीक्षा प्रस्तुत गरेका थिए । कृतिमाथिको समीक्षा प्रस्तुत गर्दै वैरागीले बालबालिकाको मनोविज्ञान बुझेर लेखिएका कृति कमी रहेका बेलामा आएका यी कृति निकै उपयोगी रहेका विचार व्यक्त गरे । सुन्दरहरैँचा कला साहित्य विकास समितिका संस्थापक अध्यक्षसमेत रहेका वैरागीले यस्ता उपयोगी रचनाहरूलाई स्थानीय पाठ्यक्रममा समावेश गरेर सबै बालबालिकासम्म पुर्याउनुपर्नेमा जोड दिए ।

कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले अभियानको औचित्यका बारेमा प्रस्ट पार्दै आफूहरू बालबालिकाको पठन संस्कृति अभिवृद्धिका लागि अभियान सञ्चालन गरिरहेको बताए । लेखक तथा अनुसन्धातासमेत रहेका विरहीले पुस्तकबाट टाढिएका बालबालिकालाई बालसाहित्यिक पुस्तक दिएर नजिक ल्याउन सकिने बताउँदै आफूहरू सोही अभियानमा रहेको बताए । उक्त कार्यक्रममा रोजाइ इनोभेटिभ स्कुलमा निर्देशक एवम् सामाजिक व्यक्तित्व महेश आचार्य तथा मुक्तककार नवराज नवशिलाले आआफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा ‘परी भए म’ भित्रका रचनालाई बालबालिकाले साङ्गीतिक रूपमा प्रस्तुतसमेत गरेका थिए । लेखकद्वय विरही र नवशिलाले २०८३ सालको पूरै समयलाई बालबालिकाका लागि प्रदान गर्ने उद्घोष गरेर सोहीअनुसारका कार्यक्रमको आयोजना गर्दै आएका छन् । साथै कोसी साहित्य–कला परिषद् नेपालले पनि बालबालिकामा पठन संस्कृति अभिवृद्धिलाई जोड दिँदै सरोकारवाला निकायसँग जोडिएर विभिन्न कार्यक्रम गर्ने योजना अघि सारेको छ ।

रोजाइ इनोभेटिभ स्कुलमा निर्देशक महेश आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने कोसी साहित्य–कला परिषद् नेपालका कोषाध्यक्ष चिरञ्जीवी काफ्लेको रहेको थियो ।




