महोत्तरी । क्रिकेट प्रतिको बढ्दो क्रेज र शिक्षा सँगै खेलकुदको विकासमा टेवा पुर्याउने उद्देश्यका साथ नरेश सिंह क्रिकेट एकेडमी तथा आर एस सेवन स्पोर्ट्स कन्सर्नको संयुक्त आयोजनामा क्रिकेट प्रशिक्षण संचालन हुने भएको छ ।
महोत्तरी मैं स्व.नरेश सिंहको स्मृतिमा विद्यालय स्तररिय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आईरहेको नरेश सिंह क्रिकेट एकेडमी द्वारा अब नियमित क्रिकेट प्रशिक्षण दिनका लागि प्रशिक्षण एकडेमी संचालनमा ल्याउन लागिएको एकेडमीका संयोजक तथा पूर्व खेलाडी राहुलप्रताप सिंहले बताएका छन । महोत्तरी सदरमुकाम जलेश्वर स्तिथ जलेश्वर रंगशाला(ल.च.मु. क्रिकेट ग्राउण्ड)मा महोत्तरीका ६ वर्ष देखी १६ वर्ष समम्का बालबालिकालाई क्रिकेट प्रशिक्षण दिईने आयोजकले जानकारी दिएका छन ।



आउदो असोज २५ गते देखी उक्त प्रशिक्षण एकेडमी संचालनमा आउने छ । नेपालका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो खेल प्रदर्शन गरिसकेका तथा खेल्दै आईरहेका खेलाड़ी र आई.सी.सी. को लेभल १ तथा लेभल २ प्रशिक्षकहरु द्वारा प्रशिक्षण दिईने जानकारी आयोजकले बताएका छन ।
महोत्तरीमा क्रिकेट प्रतिको क्रेज बढ्दो अवस्थामा रहेपनि उपयुक्त क्रिकेट रंगशाला तथा अनुभवी प्रशिक्षकहरुको प्रशिक्षण नपाएर राम्रो खेलाडी उत्पादनमा शून्यता आएको प्रति गम्भीर चिन्ता व्यक्त गर्दै एकेडमीका संयोजक सिंहले यसको समाधानका लागि पहल स्वरूप प्रशिक्षण एकेडमी संचालनमा ल्याईएको जनाए । “यस अघि पनि महोत्तरीमा क्रिकेटको अस्तित्व जोगाई राख्न सक्रिय थियौ ।
खेलाडीहरुलाई प्रशिक्षण दिने लगायत क्रिकेट प्रतियोगिताहरुको समेत आयोजना गर्यौ तर खेलाडी उत्पादन नभएमा खेल कस्ले खेल्ने अनि नियमित प्रशिक्षण नपाए खेलाडी आकर्षित पनि कसरी हुने । यस्ता समस्याहरुको समाधानका लागि विद्यालय पाठ्यक्रम जस्तै क्रिकेटको पाठ्यक्रम नै बनाई जीरो लेभल देखी नै प्रशिक्षण प्रदान गर्ने उद्देश्यका साथ एकेडेमीले सो निर्णय लिएको संयोजक सिंहले जानकारी दिए । उनले प्रशिक्षण संचालन गर्न आवश्यक सबै व्यवस्थापन कार्य अन्तिम चरणमा पुगीसकेको बताए। प्रतिभा भएका बालबालिका तथा आर्थिक रूपले समस्यामा रहेका प्रति एकेडमीले सहजता प्रदान गर्ने जानकारी दिदै प्रशिक्षण एकेडमीमा जोडिन आवाह्न गरेका छन ।




