काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनको तयारी तीव्र बनाउँदै जिल्ला संयोजकहरू तोकेको छ । देउवा पक्षको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुईकेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाहरूमा संयोजक तोकिएको जानकारी दिएका हुन् ।
कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति देउवा पक्षमा रहेका जिल्लामा सम्बन्धित जिल्ला सभापतिलाई नै महाधिवेशन तयारीको जिम्मेवारी दिइएको छ । जिल्ला सभापति संस्थापन पक्षतिर लागेको जिल्लामा भने देउवा पक्षले छुट्टै संयोजक तोकेको जनाएको छ ।



महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाको सभापतित्वमा बसेको बैठकले जिल्ला संयोजक तोक्ने निर्णय गरेको हो । जिल्ला संयोजकलाई वडा, पालिका तथा महाधिवेशन प्रतिनिधि चयनलगायतका अधिवेशनसम्बन्धी गतिविधिमा समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।
देउवा पक्षले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गतेदेखि वडा अधिवेशन सुरु हुनेछ । त्यसपछि असोज २० गते पालिका अधिवेशन र असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने तयारी छ ।
त्यस्तै, मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ । कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन भने मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय भएको छ ।
महाधिवेशन सम्पन्न गर्न शशांक कोइरालाको संयोजकत्वमा जिल्ला तयारी समितिहरू गठन गरिएको छ । ती समितिहरूले प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा तहमा तयारी समितिसमेत गठन गरिसकेको जनाइएको छ ।
महाधिवेशनका लागि ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिको तर्फबाट निर्वाचन अधिकृतसमेत पठाइसकिएको देउवा पक्षले जनाएको छ ।
कुन जिल्लाकाे संयाेजक काे ?







