काठमाडौं – नेपालीहरूको महान् चाड बडादशैँको आज दोस्रो दिन । आइतबार घटस्थापना गरी औपचारिक रूपमा यो वर्षको दशैँ सुरु भएको हो । दशैँको दोस्रो दिन आज (सोमबार) ब्रह्मचारिणीको पूजा गर्ने गरिन्छ । शक्तिपीठहरूमा देवी ब्रह्मचारिणीको पूजाअर्चना गरिने शास्त्रीय मान्यता छ । हिन्दू धर्मशास्त्रमा ब्रह्मचारिणीलाई ब्रह्म विद्या तथा शक्तिकी देवीको रूपमा पूजा गर्ने प्रचलन छ । ब्रह्मचारिणीको आराधनाले ब्रह्मानुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परमपदमा पुग्न सकिने पौराणिक मान्यता रही आएको छ ।
आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद्हरू बताउँछन् । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।



नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजयादशमी सम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गा देवीको विशेष आराधना गरिन्छ । दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ ।
उपत्यकामा मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनीलगायत प्रसिद्ध शक्तिपीठ छन् । जहाँ आश्विन शुक्ल प्रतिपदादेखि विजया दशमीका दिनसम्म भक्तजनको धेरै भिड लाग्ने गर्छ । यी शक्तिपीठमा शारदीय नवरात्रमा विशेष पूजा हुने गर्छ । यस्तै, देशभरका विभिन्न शक्ति पीठमा नवरात्रिमा माता देवी भगवतीको विशेष पूजाअर्चना गर्ने गरिन्छ ।





