महोत्तरी-महोत्तरीको रामगोपालपुर नगरपालिकामा सार्वजनिक सेवा प्रवाह, शान्तिसुरक्षा तथा स्थानीय समस्याबारे नागरिकका गुनासा र सुझाव संकलन गर्ने उद्देश्यले नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीको समन्वय तथा रामगोपालपुर नगरपालिकाको आयोजनामा मंगलबार कार्यक्रम सम्पन्न भएको हो ।



रामगोपालपुर नगरपालिका–४ स्थित सामुदायिक भवनको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गरेका थिए भने नगर प्रमुख रामदुलार साह प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार सारु मगर, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय महोत्तरीका उपअनुसन्धान निर्देशक दिलीपकुमार सिंह, जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी निरीक्षक बाबुराम कार्कीलगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी, स्थानीय वडाध्यक्ष, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, विद्यालयका शिक्षक तथा विद्यार्थी र स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो ।
नागरिक सुनुवाइ कार्यक्रमले स्थानीय नागरिक र सरकारी निकायबीच प्रत्यक्ष संवादको अवसर प्रदान गर्नुका साथै सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्या, शान्तिसुरक्षासम्बन्धी विषय तथा स्थानीय आवश्यकताबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्य राखेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
यस्ता कार्यक्रमबाट नागरिकका गुनासा तथा सुझाव सम्बन्धित निकायसम्म पुर्याउन, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र प्रशासन तथा सुरक्षा निकायप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने उनले बताए ।





