महोत्तरी- सहकारी संस्थामा जम्मा गरेको रकम फिर्ता नपाएर लामो समयदेखि समस्यामा परेकी महोत्तरीको मनरासिस्वा नगरपालिका निवासी एकल महिला इन्दुकुमारी देवीले जिल्ला प्रशासन कार्यालय महोत्तरीको पहलमा आफ्नो रकम फिर्ता पाएकी छन्।
सहकारी सञ्चालक पक्षसँग भएको छलफल र सहमतिपछि पहिलो चरणमा उहाँले आठ लाख रुपियाँ फिर्ता पाउनुभएको हो। बाँकी चार लाख रुपियाँ र त्यसको ब्याजसमेत आगामी मङ्सिर ४ गतेभित्र उपलब्ध गराउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।




रकम फिर्ता पाएपछि खुसी व्यक्त गर्दै इन्दुकुमारीले जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीप्रति आभार व्यक्त गर्नुभएको छ।
वैदेशिक रोजगारीका क्रममा रहेका उहाँका पतिको तीन वर्षअघि दुर्घटनामा निधन भएपछि प्राप्त भएको क्षतिपूर्तिबापतको १२ लाख रुपियाँ उहाँले सहकारीमा जम्मा गर्नुभएको थियो। बढी ब्याज पाउने आशामा २०८० असार २४ गते औरही नगरपालिका–१ औरही बजार स्थित सोनामाई बचत तथा ऋण सहकारी संस्थामा उक्त रकम जम्मा गरेको उहाँले बताउनुभयो।
सहकारीले वार्षिक २४ प्रतिशत ब्याज दिने आश्वासन दिएपछि आफूले रकम जम्मा गरेको उहाँको भनाइ छ। बैंकमा बढीमा छ प्रतिशतसम्म मात्रै ब्याज पाइने तर सहकारीले २४ प्रतिशतसम्म दिने बताएपछि आफू आकर्षित भएको उहाँले बताउनुभयो।
सुरुका केही महिना ब्याजसमेत प्राप्त भए पनि पछि सहकारी संस्था बन्द भएपछि सावाँ रकमसमेत फिर्ता पाउन नसकेको उहाँले सुनाउनुभयो।
पतिको निधनपछि प्राप्त क्षतिपूर्तिबापतको रकम नै आफ्नो जीवनयापन र तीन जना नाबालिका छोरीको भविष्यको मुख्य आधार रहेको इन्दुकुमारीले बताउनुभयो। पुख्र्यौली सम्पत्तिका रूपमा तीन धुर घडेरी मात्रै रहेको उल्लेख गर्दै उहाँले छोरीहरूको पालनपोषण, शिक्षा र भविष्य सुरक्षित गर्ने उद्देश्यले रकम सहकारीमा जम्मा गरेको जानकारी दिनुभयो।
“आफ्नो जीवनको मुख्य आधार रहेको रकम डुब्छ भन्ने सपनामा पनि सोचेकी थिइनँ। सहकारी बन्द भएपछि रकम फिर्ता पाउने कुनै बाटो देखिनँ। त्यसपछि न्यायका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएँ,” उहाँले भन्नुभयो।
पीडितको निवेदन प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयले सहकारी सञ्चालक पक्षसँग पटकपटक छलफल र संवाद गरी रकम फिर्ताका लागि पहल गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो।
प्रशासनको निरन्तर प्रयासपछि दुवै पक्षबीच सहमति भएको र पहिलो चरणमा आठ लाख रुपियाँ पीडितलाई उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो। बाँकी चार लाख रुपियाँ र त्यसको ब्याजसमेत मङ्सिर ४ गतेभित्र फिर्ता गर्ने सहमति भएको उहाँले बताउनुभयो।
सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाएपछि पीडितले प्रशासनमा निवेदन दिएसँगै समस्याको समाधानका लागि पहल गरिएको प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ।
लामो समयदेखि आफ्नो रकम नपाएर मानसिक तनावमा रहेकी इन्दुकुमारीले रकम फिर्ता पाएपछि राहत महसुस गरेको उहाँले बताउनुभयो। पीडितलाई न्याय र राहत दिलाउनु प्रशासनको जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले नागरिकका समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालयले आफ्नो जिम्मेवारी निष्ठापूर्वक निर्वाह गरिरहेको बताउनुभयो।
प्रशासनको पहलमा रकम फिर्ता पाएपछि इन्दुकुमारीको अनुहारमा देखिएको खुसी र आँखामा छल्किएको आँसुले पीडितले भोग्नुपरेको पीडा र राहतको अनुभूति झल्काएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो।




