महोत्तरी – धान पाकेर भित्र्याउने समयमा मौसम प्रतिकूल भई निरन्तर वर्षा हुन थालेपछि महोत्तरीका किसान चिन्तित बनेका छन्। खेतमा धान पाकेर पहेँलपुर भएको अवस्थामा वर्षा र असिनाको जोखिम बढेपछि किसानलाई समयमै बाली काटेर सुरक्षित रूपमा घर भित्र्याउन समस्या भएको छ।
जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा यतिबेला किसान धान काट्ने र थन्क्याउने तयारीमा छन्। तर, बिहीबारदेखि भइरहेको निरन्तर वर्षाले धानबालीमा क्षति पुग्न थालेपछि किसानको महिनौँदेखिको मेहनत खेर जाने चिन्ता बढेको हो।



वर्षाका कारण खेतमा पाकेको धान ढल्न थालेको छ भने कतिपय किसानले काटेर खेतमै राखेको धानसमेत भिज्न थालेको छ। लगातार पानी परिरहेकाले काटिएको धान सुकाउन र सुरक्षित रूपमा घर भित्र्याउन कठिनाइ भएको किसान बताउँछन्।
औरही नगरपालिका–१, औरहीका किसान पशुराम राय यादवले निरन्तरको वर्षाका कारण खेतमा पाकेको धान ढल्न थालेको बताए। “खेतमा धान पहेँलपुर भएर पाकेको छ। बिहीबारदेखि लगातार वर्षा भइरहेको छ। पानीका कारण पाकेको धान ढल्न थालेको छ। अझै वर्षा जारी रहे धानबालीमा थप क्षति पुग्ने चिन्ता छ,” उनले भने।
त्यस्तै, सोनमा गाउँपालिका–२, तरहारीका किसान रामदिनेश ठाकुरले धान भित्र्याउने मुख्य समयमा वर्षा भएपछि काट्ने, सुकाउने र भण्डारण गर्ने काम प्रभावित भएको बताए। उनका अनुसार कतिपय किसानले धान काटेर खेतमै राखेका छन्। तर, वर्षाका कारण काटिएको धान भिज्न थालेपछि सुरक्षित रूपमा घर भित्र्याउन समस्या भएको छ।
मौसम प्रतिकूल बनेपछि किसानलाई पाकेको धान काट्नेदेखि काटिसकेको बाली सुकाएर सुरक्षित रूपमा भण्डारण गर्नेसम्म चुनौती थपिएको छ। अझै वर्षा जारी रहे काटिएको धानको दाना झर्ने, गुणस्तर घट्ने र उत्पादनमा समेत कमी आउने जोखिम रहेको किसानको भनाइ छ।
धान महोत्तरीका ग्रामीण क्षेत्रका किसानको प्रमुख खाद्य बाली हो। परिवारलाई वर्षभरि खान पुग्ने अन्न उत्पादन गर्ने उद्देश्यले किसानले महिनौँदेखि गरेको मेहनत र लगानी बाली भित्र्याउने बेलामा मौसम प्रतिकूल बनेपछि जोखिममा परेको छ।
धान पाकेर काट्ने तयारीमा रहेका तथा काटेर खेतमै राखेका किसान अहिले मौसम खुल्ने प्रतीक्षामा छन्। समयमै घाम नलागे खेतमा रहेको धान काट्न, सुकाउन र सुरक्षित रूपमा भण्डारण गर्न कठिन हुने उनीहरूको भनाइ छ। वर्षा लम्बिए यस वर्षको धान उत्पादनमा उल्लेख्य क्षति पुग्ने चिन्ताले किसानलाई थप पिरोलेको छ।




