औरही(महोत्तरी) – तिथिमा आएको भिन्नताका कारण यस वर्ष मिथिलाञ्चलमा परम्परागत रूपमा तिहारको चौथो दिन मनाइने धार्मिक तथा सांस्कृतिक पर्व गोधन एक दिन ढिलो गरी बुधबार मनाइएको छ ।
महोत्तरीको औरहीसहित मिथिला क्षेत्रका विभिन्न गाउँबस्तीमा महिलाहरू बिहानैदेखि सामूहिक रूपमा भेला भएर परम्परागत विधिअनुसार गोधन कुट्दै पर्व मनाएका छन् । विशेषगरी महिलाको सहभागितामा मनाइने यस पर्वमा गोबर र केराउको प्रयोग गरी गोधन बनाउने र त्यसलाई ओखलमा कुट्ने परम्परा छ ।




औरही नगरपालिका–२ औरहीका महिलाहरू बिहानैदेखि समूहगत रूपमा चौक–चौतारामा भेला भएर मंगलगीत गाउँदै गोधन कुट्ने परम्परा निर्वाह गरेका छन् । यस अवसरमा महिलाहरूले परिवारको सुख, शान्ति र समृद्धिका साथै दाजुभाइको दीर्घायुको कामना गर्ने गर्छन् ।
औरही नगरपालिका–१ का नवीन झाले अघिल्लो दिन राति गाईभैंसीको गोठमा गोबरबाट माता लक्ष्मी र भगवान् विष्णुको प्रतीकस्वरूप गोधन बनाउने परम्परा रहेको बताउनुभयो । भोलिपल्ट बिहान त्यसमा केराउ मिसाएर ओखलमा कुट्ने चलन रहेको उहाँले जानकारी दिनुभयो ।

गोधन कुटेपछि त्यसबाट निकालिएको केराउका दाना अर्थात् बजरी दाजुभाइलाई खुवाउने र त्यसको बदलामा दाजुभाइले दिदीबहिनीलाई कोसेली दिने परम्परा छ । यस क्रममा महिलाहरूले हाँसोठट्टासहित ‘बजरी खैया भैया बजर होईहा, दहेज न दिहा दरिद्र होईहा’ भन्ने परम्परागत भनाइसमेत उच्चारण गर्छन् ।
मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष तथा मैथिली साहित्यकार रामभरोस कापडीका अनुसार द्वापर युगमा भगवान् श्रीकृष्णले इन्द्रको वर्षाबाट गोकुलवासीलाई जोगाउन आफ्नो कान्छी औँलामा गोवर्धन पर्वत उठाएर संरक्षण गरेको धार्मिक मान्यतासँग यस पर्वको सम्बन्ध छ । सोही घटनाको स्मरणमा मिथिला क्षेत्रमा गोवर्धन पूजालाई स्थानीय भाषामा गोधन पर्वका रूपमा मनाउने गरिएको उहाँले बताउनुभयो ।

गोधन पर्वका अवसरमा गोठमा गोबरबाट पुरुष र महिलाको आकृति, अन्न राख्ने सखारी तथा जाँतो बनाएर पूजा गर्ने परम्परा छ । ती आकृतिमा दाल, चामल, धानलगायत अन्न राखेर घिरौलाको फूलले सजाउने गरिन्छ ।
यसैगरी पशुधनका रूपमा रहेका गाई, गोरु र भैंसीलाई ओखलमा कुटिएको धान, सिन्दूर, दूबो र पिठार मिसाएर बनाइएको रङले चुमाउने तथा नयाँ दाम्लो लगाइदिने चलन छ । यसरी पूजा गर्दा पशुधनमा नराम्रो दृष्टि नलाग्ने र रोगव्याधिबाट सुरक्षित रहने जनविश्वास छ ।
औरही नगरपालिका–२ का घनश्याम यादवका अनुसार दौरा अर्थात् सिकी वा बाँसको चोयाबाट बनाइएको भाँडोमा धान, दूबो, फलफूल, पान, सुपारी, पैसा, पिठार, सिन्दूर, तोरीको तेल र गङ्गाजल राखेर पूजा गर्ने परम्परा छ । पूजापछि पशुधनलाई हरियो धान खुवाउने र भैंसीलाई ‘हुर्रा’ खेलाउने चलनसमेत रहेको उहाँले बताउनुभयो ।

यद्यपि, पशुप्रति हिंसा हुने भन्दै पछिल्ला वर्षमा हुर्रा खेलाउने परम्परा क्रमशः हराउँदै गएको स्थानीयको भनाइ छ ।
स्थानीय अवकाशप्राप्त शिक्षक सीताशरण यादवका अनुसार विगतमा गोधन पर्वका अवसरमा घरघरमा ‘लक्ष्मी आबे, काल भागे’ भन्दै सुपा (नाङ्लो) ठटाउने चलनसमेत थियो । तर, पछिल्लो समय नयाँ पुस्तामा यस्ता मौलिक परम्परा र संस्कार क्रमशः हराउँदै गएको उहाँले बताउनुभयो ।

धार्मिक आस्था, पारिवारिक सम्बन्ध र पशुधनको महत्त्वसँग जोडिएको गोधन पर्व मिथिलाको मौलिक सांस्कृतिक पहिचानका रूपमा रहेको छ । यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय सम्बन्धलाई प्रगाढ बनाउनुका साथै पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक परम्परा र सामाजिक एकतालाई समेत बलियो बनाउँदै आएको छ ।
पछिल्लो समय केही परम्परागत विधि र संस्कार लोप हुँदै गए पनि मिथिलाञ्चलका महिलाहरूले सामूहिक रूपमा पर्व मनाउँदै यसको संरक्षण र निरन्तरतामा जोड दिँदै आएका छन् ।

















