धनुषा । नेपाली कांग्रेसका महान्त्री प्रदीप पौडेलले वर्तमान सरकारको कार्यशैलीले लोकतन्त्र र विधिको शासन कमजोर बनाउँदै मुलुकलाई अराजकतातर्फ धकेल्ने खतरा बढाएको बताउनुभएको छ ।
जनकपुरधाममा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले प्रश्न गर्ने नागरिकलाई थुन्ने, अपमानित गर्ने र विधिको शासनको मर्मविपरीत व्यवहार गर्ने प्रवृत्ति देखाएको आरोप लगाउनुभयो । विगतमा प्रश्न गर्नेहरूलाई हेप्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उहाँले अहिले प्रश्न उठाउनेहरूलाई नै नियन्त्रणमा लिने र दबाउने काम भइरहेको बताउनुभयो ।



पुराना राजनीतिक दलको विरोध गर्दै उदाएको नयाँ पार्टी नै झन् बढी अराजक बन्न खोजेको आरोप लगाउँदै महासचिव पौडेलले पछिल्ला घटनाक्रमले सरकारको व्यवहार लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको देखाएको बताउनुभयो ।
उहाँले सुनकोशी–मरिण डाइभर्सन आयोजना देखि सञ्चारगृहमा प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको स्वेच्छाचारी कार्यशैलीको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो । यस्ता गतिविधि निरन्तर भए नेपाली कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिँदै उहाँले अर्को दुर्गानन्द झाहरु पनि जन्मिन सक्ने अभिव्यक्तिसमेत दिनुभयो ।
सरकार दुई तिहाइको दम्भमा अघि बढिरहेको आरोप लगाउँदै उहाँले अन्य राजनीतिक दललाई कमजोर बनाउने र दलभित्रै खेल्ने प्रयास भइरहेको बताउनुभयो ।
कांग्रेसलाई नियोजित रूपमा विभिन्न आरोप लगाएर कमजोर बनाउने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले यस्ता गतिविधिबाट पार्टी कमजोर नभई अझ सशक्त भएर अघि बढ्ने दाबी गर्नुभयो ।
महामन्त्री पौडेलले कांग्रेस सभापति गगन थापालाई पक्राउ गर्न सक्ने भन्दै फैलाइएका हल्लाले पार्टीलाई कमजोर बनाउन नसक्ने बताउँदै उहाँले सरकारले विधिको शासन मिचेर अघि बढ्न खोजे कांग्रेसले सशक्त प्रतिवाद गर्ने चेतावनी दिँदै लोकतन्त्र र कानुनी शासनको रक्षाका लागि पार्टी निरन्तर संघर्षरत रहने बताउनुभयो। साथै, कांग्रेस आफैँ पनि विधि र पद्धतिअनुसार सञ्चालन हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
कांग्रेसको १५औँ महाधिवेशनबारे बोल्दै पौडेलले सबैलाई समेटेर महाधिवेशन सम्पन्न गर्ने प्रयास सफल नभए पनि महाधिवेशन विधिसम्मत प्रक्रियाबाटै सम्पन्न भएको दाबी गर्नुभयो । अब पार्टीलाई नयाँ ढंगले अघि बढाउँदै संगठनलाई थप व्यवस्थित बनाउनुपर्ने उहाँको भनाइ थियो ।
महान्त्री पौडेलले सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने अवस्था सिर्जना गरिरहेको आरोपसमेत लगाउनुभयो । स्थानीय तहको निर्वाचन मिति कार्यकाल समाप्त हुनुभन्दा छ महिनाअघि नै घोषणा हुनुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उहाँले सरकारको गतिविधि निर्वाचन गराउने दिशामा केन्द्रित नभएको बताउनुभयो ।
मधेश प्रदेशमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस सभापति गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गर्नुभएको भेटलाई राजनीतिक रूपमा अन्य अर्थ लगाउन नहुने उहाँको भनाइ थियो ।
मधेश प्रदेशमा नेपाली कांग्रेसकै नेतृत्वमा सरकार कायम रहोस् भन्ने आफ्नो चाहना रहेको स्पष्ट पार्दै महान्त्री पौडेलले त्यसका लागि कांग्रेसले कुनै पनि प्रकारको अनैतिक राजनीतिक गठबन्धन नगर्ने बताउनुभयो ।
उहाँले लोकतन्त्रको रक्षा, विधिको शासनको स्थापना र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।-




