महोत्तरी – लोकआस्थाको महापर्व छठ नजिकिँदै गएसँगै महोत्तरी जिल्लाका विभिन्न पोखरी तथा खोला किनारामा सरसफाइ, सजावट र सिँगारपटारको काम तीव्र पारिएको छ । स्थानीयवासीको सक्रिय सहभागितामा जिल्लाका विभिन्न स्थानमा रहेका पोखरी तथा खोलाको सरसफाइ गरी आकर्षक रूपमा सजाउने काम भइरहेको छ ।

तराई–मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा रहेको छठको तयारी जिल्लाभरि सुरु भएको हो । यस क्रममा मटिहानी नगरपालिकास्थित लक्ष्मीनारायण मठको पोखरी, जलेश्वर नगरपालिकास्थित जलेश्वरनाथ महादेव मन्दिरअगाडिको पोखरी,रामगोपालपुर नगरपालिकाको सौतिनिया पोखरी,औरही नगरपालिका–७ स्थित सोनामाई मन्दिरअगाडिको पोखरी,औरही नगरपालिका ८ टिम्किया बजारमा रहेको पोखरी,औरही नगरपालिका–२ स्थित रामजानकी कुटीअगाडिको पोखरी र वडा नं. १ स्थित महादेव मन्दिरअगाडिको पोखरीमा सरसफाइ तथा सजावटको काम भइरहेको छ ।




त्यसैगरी, औरही हुँदै बग्ने जङ्गहा खोला तथा गौशाला नगरपालिकास्थित पचाईं खोला र मरहा खोलालगायतका जलाशय तथा नदी किनारामा पनि छठको तयारी भइरहेको छ । स्थानीयवासीले सामूहिक रूपमा घाट सरसफाइ, पूजास्थल व्यवस्थापन र सजावटका कामलाई प्राथमिकता दिएका छन् ।छठ पर्व मनाउनेको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएपछि आवश्यक पूजासामग्रीको किनमेलका लागि बजारमा समेत चहलपहल बढ्न थालेको छ । पर्वलाई व्यवस्थित र आकर्षक बनाउन स्थानीयस्तरमा विभिन्न समिति तथा युवाको समूह सक्रिय भएका छन् ।

औरही नगरपालिका–२ स्थित रामजानकी कुटीअगाडिको पोखरी र वडा नं. १ स्थित महादेव मन्दिरअगाडिको पोखरीमा यस वर्षको छठ पर्वका लागि विशेष तयारी भइरहेको छ । रामजानकी कुटी पोखरीमा आकर्षक पण्डाल निर्माण, झिलिमिली बत्ती जडान तथा विभिन्न प्रकारका सजावट गर्ने काम अघि बढाइएको छ ।औरही नगरपालिका–२ का स्थानीयवासी दिगम्बर चौधरीले गत वर्षको तुलनामा यस वर्ष छठ पर्व अझ भव्य रूपमा मनाउने तयारी भइरहेको बताउनुभयो । “यस वर्ष रामजानकी कुटी पोखरीमा छठ पूजाका लागि आकर्षक पण्डाल, झिलिमिली बत्ती र विभिन्न प्रकारका सजावट गर्ने तयारी गरेका छौँ,” उहाँले भन्नुभयो, “विगतका वर्षमा जस्तै यस वर्ष पनि सभ्य र भव्य रूपमा छठ पर्व मनाइनेछ ।”

औरही नगरपालिका–२, औरहीका समाजसेवी दरेश यादवले छठ पर्व धार्मिक आस्था र सामाजिक एकताको प्रतीक भएकाले यसको व्यवस्थापनमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार छठ घाटको सरसफाइ, सजावट तथा पूजाका लागि आवश्यक व्यवस्थापनमा स्थानीयवासीको सक्रिय सहभागिता रहेको छ । प्रत्येक वर्ष छठ पर्वप्रति स्थानीयको आकर्षण बढ्दै गएको र यसले गाउँको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउँदै लगेको उहाँले बताउनुभयो ।

चौधरीका अनुसार तिहार सकिएलगत्तै छठको अन्तिम तयारीलाई थप तीव्रता दिइनेछ । रामजानकी कुटी पोखरी र जङ्गहा खोलामा छिमेकी गाउँबाट समेत श्रद्धालु तथा दर्शनार्थी आउने भएकाले यस क्षेत्रको चहलपहल र रौनक बढ्ने अपेक्षा गरिएको छ ।रामजानकी कुटी पोखरीमा दुई दशकभन्दा बढी समयदेखि निरन्तर छठ पर्व मनाइँदै आएको छ । पूजा व्यवस्थापन समितिका अनुसार यस वर्ष पोखरीको सजावट तथा व्यवस्थापनका लागि करिब दुई लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पोखरीमा गरिने आकर्षक सजावट अवलोकन गर्न आसपासका बस्ती तथा गाउँबाट समेत सर्वसाधारण आउने गरेका छन् ।

तराई–मधेसका महिलाले परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायुको कामना गर्दै श्रद्धापूर्वक छठ पर्व मनाउने परम्परा छ । चार दिनसम्म मनाइने यस पर्वमा व्रतालुले नहाय–खाय, खरना, अस्ताउँदो सूर्यलाई अर्घ्य र उदाउँदो सूर्यलाई अर्घ्य दिने विधि पूरा गर्छन् । प्रकृति र सूर्य उपासनासँग जोडिएको यस पर्वमा पोखरी, नदी तथा जलाशयको विशेष महत्व रहने गरेको छ ।

यस वर्ष छठ पर्वको मुख्य दिन कात्तिक २९ गते आईतबार परेको छ । पर्व नजिकिँदै जाँदा जिल्लाका विभिन्न छठ घाटमा सरसफाइ र सजावटको कामले तीव्रता पाएको छ । स्थानीयवासी, युवा तथा पूजा व्यवस्थापन समितिको सक्रियताले महोत्तरीका छठ घाटहरू पर्वअघि नै झकिझकाउ बन्ने अपेक्षा गरिएको छ ।





















