जनकपुरधाम । तराईमधेशका विभिन्न गाउँबस्तीमा अहिले सामाचकेवा पर्वको रौनक छाएको छ । छठपर्व खर्नाको दिनदेखि सुरु भएको सामाचकेवा पर्वमा महिलाहरू प्रत्येक दिन आफ्नो घरायसी काम सकाएर रातिमा समूह बनाएर परम्परागत गीत गाउँदै तथा सामाचकेवा खेल्दै रमाउने गरेका छन् । गाउँका चोक, आँगन र खुला स्थानमा रातिको समयमा महिलाको जमघटले ग्रामीण परिवेशलाई उत्सवमय बनाएको छ । यो पर्व कात्तिक पूर्णिमा तिथिमा सम्पन्न हुने गरेको छ ।
विशेष गरी मिथिलाञ्चल क्षेत्रमा लोकप्रिय रहेको सामाचकेवा पर्व दाजुभाइ तथा दिदीबहिनीबिचको प्रेम, सद्भाव, विश्वास र पारिवारिक सम्बन्धको प्रतीकका रूपमा लिइन्छ । यस पर्वमा महिलाले माटोबाट बनाइएका विभिन्न आकृतिका मूर्ति तथा खेलौना प्रयोग गरी परम्परागत विधि अनुसार पूजा तथा खेल प्रदर्शन गर्छन् । समा, चकेवा, चुगला, वृन्दावनलगायतका आकृति यस पर्वका प्रमुख आकर्षण रहेको हुन्छ ।



पौराणिक मान्यता अनुसार समा भगवान् श्रीकृष्णकी छोरी थिइन् । उनीमाथि लागेको झुटो आरोपका कारण वनबास जानु परेको र उनका भाइ साम्बले सत्यको खोजी गरी उनलाई निर्दोष प्रमाणित गराएको कथासँग यो पर्व जोडिएको छ । यही कथाले दाजुभाइ र दिदीबहिनीबिचको अटुट प्रेम तथा एकअर्काप्रतिको समर्पणलाई उजागर गर्छ ।
पर्वका क्रममा महिलाले सामाचकेवाका परम्परागत गीत गाउँदै विभिन्न सामाजिक, सांस्कृतिक र पारिवारिक विषयलाई समेत प्रस्तुत गर्ने गरेको संस्कृतिका जानकार परमेश्वर कापैरले जानकारी दिनुभयो । गीतमा दाजुभाइको दीर्घायु, परिवारको सुख, समृद्धि, सामाजिक एकता तथा आपसी प्रेमको कामना गर्ने गरिएको उहाँले बताउनुभयो । प्रस्तुतिका क्रममा विशेष गरी चुगलाको आकृतिमार्फत समाजमा हुने झुट, षड्यन्त्र र नकारात्मक प्रवृत्तिमाथि व्यङ्ग्यसमेत गरिन्छ उहाँले भन्नुभयो ।
धनुषाको विदेह नगरपालिका–३ का मुन्द्रकला देवीले सामाचकेवा पर्व केवल मनोरञ्जनको माध्यम मात्र नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक सांस्कृतिक सम्पदा रहेको भन्दै यसले महिलाहरूलाई एकै ठाउँमा भेला हुने, सुखदुःख साटासाट गर्ने र आपसी सम्बन्ध प्रगाढ बनाउने अवसरसमेत प्रदान गर्ने गरेको बताउनुभयो ।
पछिल्लो समय आधुनिक जीवनशैली, वैदेशिक रोजगारी, युवापुस्ताको घट्दो रुचि तथा परम्परागत संस्कृतिप्रतिको बेवास्ताका कारण यस्ता मौलिक पर्वको निरन्तरतामा चुनौती थपिँदै गएको छ ।
संस्कृतिकर्मी नवीन मिश्रका अनुसार सामाचकेवा पर्वको मौलिकता जोगाउन स्थानीय तह, सांस्कृतिक संस्था र नयाँ पुस्ताले विशेष ध्यान दिन आवश्यक छ । विद्यालयस्तरबाटै यस्ता पर्वको महत्वबारे जानकारी गराउने, परम्परागत गीत तथा संस्कारको अभिलेखीकरण गर्ने र सामूहिक सांस्कृतिक कार्यक्रम आयोजना गर्ने हो भने यसको संरक्षणमा सहयोग पुग्न सक्ने उहाँको भनाइ रहेको छ । संस्कृतिकर्मी ललित कामतले समाचकेवा पर्वले मनोरञ्जनसँगै प्रेम, सद्भाव, नारी एकता र सामाजिक सम्बन्धको सन्देश दिँदै आएको बातउनुभयो । उहाँले यो पर्व केवल धार्मिक तथा सांस्कृतिक उत्सव मात्र नभई मिथिला समाजको पहिचान र पुस्तौँदेखि चल्दै आएको अमूल्य सांस्कृतिक धरोहरसमेत रहेकाले यसको संरक्षणमा सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।
जनकपुरधाममा रहेको मैथिली विकास कोषले यही मङ्सिर १ गते देखि ५ गतेसम्म समाचकेवा मूर्ति निर्माण कार्यशालाको आयोजना गरी यसको संरक्षणका लागि सामाचकेवा खेल प्रतियोगिताको आयोजना गरेको मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिनुभयो ।




