लक्ष्मी चौधरी
जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा महिला मानव अधिकार रक्षक तथा महिला पुनर्स्थापना केन्द्र (ओरेक) का कर्मचारीमाथि भएको आक्रमणको भर्त्सना गर्दै महिला मानव अधिकार रक्षकहरूले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।



महिला मानव अधिकार रक्षकहरूको प्रदेश सञ्जाल, मधेश प्रदेशले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न आक्रमणकारी, योजनाकार तथा मतियारमाथि निष्पक्ष अनुसन्धान गरी प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेको हो ।
विज्ञप्तिअनुसार गत मङ्सिर ६ गते हिंसा प्रभावित महिलालाई न्याय प्राप्तिको प्रक्रियामा सहजीकरण गर्न प्रहरीसँगै घटनास्थल पुगेका महिला मानव अधिकार रक्षक तथा ओरेकका कर्मचारीमाथि निर्घात कुटपिट, बलात्कार प्रयास, लुटपाट र ज्यान मार्ने धम्की दिइएको थियो ।
अन्तरजातीय प्रेम सम्बन्धका कारण परिवार तथा समाजबाट विभेद र हिंसा भोग्न बाध्य एक महिलालाई न्याय दिलाउने प्रक्रियामा सहजीकरण गर्न अधिकारकर्मीहरू घटनास्थल पुगेका बेला करिब १५० जनाको समूहले धारिलो हतियार देखाउँदै आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ । आक्रमणका क्रममा अधिकारकर्मी तथा कर्मचारीको कपडा च्यात्नुका साथै गरगहना लुटपाट र ज्यान मार्ने धम्कीसमेत दिइएको जनाइएको छ ।
प्रहरी चौकीभित्रै समेत पुनः हातपात भएको र ओरेकका दुई जना कर्मचारी गम्भीर घाइते भई उपचाररत रहेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीकै समन्वयमा घटनास्थल पुगेका अधिकारकर्मीमाथि आक्रमण हुनु र प्रहरी चौकीभित्रै समेत सुरक्षा सुनिश्चित हुन नसक्नुले राज्यको सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठाएको सञ्जालको ठहर छ ।
सञ्जालले उक्त घटनालाई महिला अधिकार, मानव अधिकार, न्यायमा पहुँच, नागरिक समाजको स्वतन्त्र भूमिका तथा विधिको शासनमाथिको प्रत्यक्ष प्रहारका रूपमा व्याख्या गरेको छ । न्यायका लागि आवाज उठाउने मानव अधिकार रक्षकहरू नै असुरक्षित हुने अवस्था लोकतान्त्रिक समाजका लागि गम्भीर चुनौती भएको विज्ञप्तिमा जनाइएको छ ।
सञ्जालले घाइते कर्मचारी तथा अधिकारकर्मीको निःशुल्क उपचार, मनोसामाजिक सहयोग र सुरक्षाको व्यवस्था गर्न तथा लुटिएका गरगहना र सम्पत्तिको क्षतिपूर्तिका लागि पहल गर्न माग गरेको छ । त्यसैगरी, न्यायको प्रक्रियामा रहेकी हिंसा प्रभावित महिला र उनका बच्चाको जीवन, सुरक्षा, गोपनीयता तथा मर्यादा सुनिश्चित गर्दै रोकिएको न्यायिक प्रक्रियालाई तत्काल अघि बढाउन आग्रह गरेको छ ।
घटनामा प्रहरी प्रशासनको भूमिकाबारे निष्पक्ष छानबिन गर्न, महिला तथा मानव अधिकार रक्षकहरूले हिंसा, धम्की र प्रतिशोधको डरबिना आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्ने सुरक्षित वातावरण निर्माण गर्न तथा हिंसा प्रभावित महिलाको व्यक्तिगत विवरण र संवेदनशील सूचनाको चुहावट रोक्न पनि सञ्जालले माग गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको मधेश प्रदेश कार्यालयलाई घटनाको सूक्ष्म अनुसन्धान गरी न्यायका लागि आवश्यक पहल गर्न अनुरोध गर्दै सञ्जालले नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय महिला आयोग, प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै, मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयसँग महिला मानव अधिकार रक्षकहरूको सुरक्षासम्बन्धी नीति निर्माण तथा क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न माग गरिएको छ ।
विज्ञप्तिमा न्यायको पक्षमा उभिनु अपराध नभएको उल्लेख गर्दै मानव अधिकार रक्षकलाई आक्रमण गर्नु दण्डनीय अपराध भएको जनाइएको छ । महिला तथा मानव अधिकार रक्षकहरूको सुरक्षा र न्यायको प्रत्याभूति गर्न नसक्ने अवस्थालाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने सञ्जालले जनाएको छ ।
महिलामाथि हुने हिंसा, जातीय विभेद, दण्डहीनता तथा अधिकारकर्मीमाथिको दमनविरुद्ध सामूहिक आवाज निरन्तर बुलन्द गर्ने प्रतिबद्धता समेत विज्ञप्तिमार्फत व्यक्त गरिएको छ ।
पत्रकार सम्मेलनमा संजालको बारा जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य निभा सिंह –विज्ञप्ति वाचन गर्नुभएको थियो भने संजालका राष्ट्रिय अध्यक्ष श्यामकुमारी साह, प्रदेश अध्यक्ष अधिवक्ता रेखा झा लगायत प्रदेशका आठवटै जिल्लाका अध्यक्ष तथा सदस्यहरुको संयुक्त हस्ताक्षरित विज्ञप्ति जारी गरिएको छ।




