अर्जुनकुमार साह,धनुषा – वर्षौंदेखि सामाजिक,आर्थिक तथा शैक्षिक रूपमा पछाडि पारिएको मुसहर समुदायको सशक्तीकरण र अधिकार सुनिश्चितताका लागि सञ्चालित कार्यक्रमले सकारात्मक परिवर्तनका सङ्केत देखाउन थालेका छन्। अपाङ्गता भएका व्यक्तिको पहिचान तथा अधिकारका लागि पैरवी, महिला तथा किशोरीको सचेतना अभिवृद्धि, बालबालिकाको शिक्षामा पहुँच विस्तार र आधारभूत सेवासुविधाको उपलब्धताका क्षेत्रमा भइरहेका प्रयासले समुदायमा जागरण बढाएको छ।
लुथरन वर्ल्ड फेडरेसन नेपाल (एलडब्लुएफ) को आर्थिक सहयोग तथा ऋषिवंश एकता समाज नेपाल र लुथरन सामुदायिक कल्याण समाजको आयोजनामा सञ्चालित मुसहर समुदायको संस्थागत क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत बिहीबार धनुषाका विभिन्न स्थानीय तहमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गरिएको छ।



अनुगमन टोलीले क्षिरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका र हंसपुर नगरपालिकाका विभिन्न बस्तीमा पुगेर अपाङ्गता भएका व्यक्तिका समूह, महिला तथा किशोरी समूह र स्थानीय अगुवासँग छलफल गरेको थियो। साथै, संस्थाको सहयोगमा सञ्चालित कार्यक्रम, विद्यालय तथा सेवा प्रदायक संस्थामा भएका सुधार र उपलब्धिको अवस्थाबारे जानकारी लिइएको थियो।
लुथरन सामुदायिक कल्याण समाजका कार्यक्रम अधिकृत सुजित सोरेनको नेतृत्वमा भएको अनुगमनमा संस्थाका पदाधिकारी, पत्रकार तथा सामाजिक अभियन्ताको सहभागिता थियो।
अपाङ्गता भएका व्यक्तिको पहिचान र अधिकारका लागि पैरवी
हंसपुर नगरपालिका–८ का ३८ वर्षीय सुखी मण्डल अपाङ्गता भएका व्यक्तिको पहिचान र उनीहरूको अधिकार सुनिश्चितताका लागि समुदायस्तरमा सक्रिय हुनुहुन्छ। लुथरन संस्थाको सहयोगमा उहाँले पालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिको अवस्था पहिचान तथा तथ्याङ्क सङ्कलन गर्दै आउनुभएको छ।

अपाङ्गता भएका व्यक्तिको वास्तविक अवस्था र आवश्यकता पहिचान नगरी उनीहरूका समस्या समाधान गर्न कठिन हुने भएकाले मण्डलले घरघरमा पुगेर सर्वेक्षण तथा तथ्याङ्क सङ्कलनको काम गर्दै आउनुभएको हो।उहाँका अनुसार सर्वेक्षणका क्रममा अपाङ्गता भएका व्यक्तिले आर्थिक अभाव, रोजगारीको कमी, शिक्षामा न्यून पहुँच, सीप विकासको अवसर अभाव तथा राज्यबाट प्राप्त हुने सेवासुविधा उपभोग गर्न नसक्नेजस्ता समस्या भोगिरहेको पाइएको छ।
हालसम्म ३७ जना अपाङ्गता भएका व्यक्तिको पहिचान गरिएको छ। पहिचान भएका व्यक्तिलाई अधिकारसम्बन्धी जानकारी दिने, सरकारी सेवासुविधामा पहुँच पुर्याउने तथा सम्बन्धित निकायसँग समन्वय र पैरवी गर्ने काम भइरहेको छ।

यस पहलले अपाङ्गता भएका व्यक्तिलाई सहयोगको प्रतीक्षामा रहने समूहका रूपमा मात्र नभई आफ्ना अधिकारका लागि आफैँ आवाज उठाउन सक्ने नागरिकका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय अगुवाको पहलमा सामुदायिक विद्यालय
मुसहर समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले स्थानीय अगुवा राजकुमार सदा र जयप्रकाश सदाको पहलमा गत वर्ष मिथिला वर्ड लाइफको सहयोगमा हंसपुर नगरपालिका–८ मा सामुदायिक विद्यालय भवन निर्माण गरिएको थियो।विद्यालय भवन निर्माण भएपछि समुदायका बालबालिकालाई अध्ययनका लागि सहज भएको छ। हाल उक्त विद्यालयमा मुसहर समुदायका करिब १५० जना बालबालिका अध्ययनरत छन्।

स्थानीय अगुवा जयप्रकाश सदा विगत एक दशकदेखि ऋषिवंश एकता समाजको कोषाध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ। उहाँले मुसहर तथा दलित समुदायका सामाजिक, आर्थिक र शैक्षिक समस्या पहिचान गरी समुदायलाई सङ्गठित तथा सशक्त बनाउने काम गर्दै आउनुभएको छ।त्यस्तै, स्थानीय अभियन्ता राजकुमार सदाले पनि दलित समुदायको हकहित र अधिकारका लागि स्थानीय सरकारसँग समन्वय तथा सहकार्य गर्दै विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आउनुभएको छ।
समुदायभित्रै विद्यालय सञ्चालन भएपछि बालबालिकाको विद्यालय भर्ना र नियमित अध्ययनमा सहयोग पुगेको स्थानीय अगुवाहरूको भनाइ छ।
महिला तथा किशोरीमा अधिकारसम्बन्धी चेतना
हंसपुर नगरपालिका–८ मा लुथरन संस्थाको सहयोगमा सञ्चालित रूपान्तर शिक्षा कार्यक्रमले महिला तथा किशोरीमा सामाजिक र कानुनी सचेतना अभिवृद्धि गर्न सहयोग पुर्याएको छ।कार्यक्रममा मुसहर समुदायका २४ जना महिला तथा किशोरी सहभागी छन्। विगत आठ महिनादेखि सञ्चालन हुँदै आएको कार्यक्रममा शैक्षिक ज्ञानका साथै सामाजिक, कानुनी तथा अधिकारसम्बन्धी विषयमा जानकारी दिने गरिएको छ।
कार्यक्रममा बालविवाह, बहुविवाह, दाइजो प्रथा, लैङ्गिक हिंसा तथा समाजमा विद्यमान अन्य हानिकारक सामाजिक अभ्यासबारे छलफल गरिन्छ।

यस्ता कुरीतिले व्यक्ति, परिवार र समाजमा पार्ने प्रभाव, समाधानका उपाय तथा प्रचलित कानुनी व्यवस्थाबारे समेत सहभागीलाई जानकारी गराइन्छ।कार्यक्रममा सहभागी महिला तथा किशोरीमा सामाजिक विभेद र कुरीतिविरुद्ध आवाज उठाउने क्षमता विकास हुँदै गएको अनुगमनका क्रममा पाइएको छ। उनीहरूले आफू सचेत हुनुका साथै समुदायका अन्य व्यक्तिलाई समेत सचेत गराउने गतिविधि सञ्चालन गर्न थालेका छन्।
विद्यालयमा खानेपानीको व्यवस्था
अनुगमन टोलीले लक्ष्मीनिया गाउँपालिका–३, गमहरियास्थित गणेशमान नवदुर्गा राष्ट्रिय प्राथमिक विद्यालयको समेत अवलोकन गरेको थियो।लुथरन संस्थाको सहयोगमा उक्त विद्यालयमा खानेपानीका लागि धारा जडान गरिएको छ। खानेपानीको अभावमा विद्यार्थीले भोग्दै आएको समस्या समाधान गर्ने उद्देश्यले संस्थाले धारा सेटसहित आवश्यक व्यवस्था मिलाउन सहयोग गरेको हो।
हाल विद्यालयमा ५७ जना विद्यार्थी अध्ययनरत छन्। सबै विद्यार्थी दलित समुदायका रहेको विद्यालयले जनाएको छ। खानेपानीको व्यवस्था भएपछि विद्यार्थीलाई पिउने पानीको सहज उपलब्धता भएको छ।तर विद्यालयमा अझै शौचालय, शैक्षिक सामग्री तथा खेलकुद सामग्रीको अभाव रहेको अनुगमनका क्रममा पाइएको छ। विद्यालयका प्रधानाध्यापक रञ्जु यादवले विद्यार्थीको सिकाइ वातावरण सुधार गर्न आवश्यक सामग्री उपलब्ध गराउन सहयोगी संस्था तथा सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ।
अझै चुनौतीपूर्ण अवस्थामा सीमान्तकृत समुदाय
विभिन्न क्षेत्रमा सकारात्मक प्रयास भइरहे पनि मुसहर समुदायले अझै आधारभूत समस्याको सामना गर्नुपरेको अनुगमनका क्रममा देखिएको छ।विशेषगरी जन्मदर्ता तथा नागरिकता प्राप्तिमा कठिनाइ, शिक्षामा न्यून पहुँच, आर्थिक अभाव, बेरोजगारी, सीप विकासका अवसरको कमी, महिला तथा किशोरीमाथि हुने हिंसा र सामाजिक विभेद समुदायका प्रमुख समस्याका रूपमा रहेका छन्।
जन्मदर्ता र नागरिकता नहुँदा राज्यबाट प्राप्त हुने सेवासुविधामा पहुँच स्थापित गर्न कठिन भइरहेको छ। आर्थिक अवस्था कमजोर हुनु र शिक्षाको महत्त्वबारे पर्याप्त जानकारी नहुनुले बालबालिकाको शैक्षिक निरन्तरतामा समेत असर पारेको छ।
त्यस्तै, महिलाको आर्थिक आत्मनिर्भरता कमजोर हुनु, रोजगारी तथा सीप विकासका अवसरको अभाव र परम्परागत सामाजिक मान्यताका कारण महिला तथा किशोरी हिंसा र विभेदको जोखिममा रहनुपर्ने अवस्था छ।
यी समस्याको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार, सेवा प्रदायक निकाय, नागरिक समाज र विकास साझेदार संस्थाबीच प्रभावकारी समन्वय तथा सहकार्य आवश्यक देखिएको छ।समुदायको संस्थागत क्षमता विकास, अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितता, महिला तथा किशोरीको सशक्तीकरण र बालबालिकाको शिक्षामा पहुँच विस्तारका लागि सञ्चालित कार्यक्रमलाई निरन्तरता दिन सके मुसहर समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्थामा सुधार ल्याउन सकिने अपेक्षा गरिएको छ।
समुदायका व्यक्तिलाई आफ्ना समस्या पहिचान गर्न, सामूहिक रूपमा आवाज उठाउन र स्थानीय सरकारसँग अधिकारका लागि पहल गर्न सक्षम बनाउने यस्ता कार्यक्रमले सामाजिक समावेशीकरण र न्यायपूर्ण समाज निर्माणमा योगदान पुर्याउने विश्वास गरिएको छ।




