महोत्तरी– कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गएपछि महोत्तरीसहित देशका विभिन्न जिल्लाका गाउँघरबाट परम्परागत दाइँ गर्ने चलन क्रमशः हराउँदै जान थालेको छ। कुनै समय गोरु र मानवीय श्रमको सहायताले खेतमै खलो बनाएर अन्न झार्ने गरिए पनि पछिल्लो समय थ्रेसर मेसिन र ट्र्याक्टरको प्रयोग बढेसँगै पुस्तौँदेखि चल्दै आएको दाइँ संस्कृति ओझेलमा परेको हो।
एक दशकअघिसम्म तराई–मधेशका गाउँघरमा धान, गहुँ, मसुरो र तोरीलगायतका बाली काटेपछि खेतमै खलो बनाएर दाइँ गर्ने परम्परा थियो। किसानले मियो गाडेर त्यसको वरिपरि गोरु घुमाउँदै बाली कुल्चाएर अन्न झार्ने गर्थे। यसरी दाइँ गर्दा परिवारका सदस्य, छिमेकी र गाउँलेसमेत सहभागी हुने भएकाले यो खेतीपातीको कामसँगै सामूहिक श्रम, आपसी सहयोग र सामाजिक सद्भावको माध्यमसमेत बनेको थियो।




खेती किसानीसमेत गर्दै आउनुभएका महोत्तरीको औरही नगरपालिका–२ का किसान दिनेश यादवका अनुसार गोरुपालन घट्दै जानु र आधुनिक कृषि उपकरणको प्रयोग बढ्नुले परम्परागत दाइँ गर्ने चलन हराउँदै गएको हो।
“एक दशकअघिसम्म खेतका फाँटमा खलो बनाएर धान, मसुरो, तोरी र गहुँलगायतका अन्न झार्ने गरिन्थ्यो। बोटमा बाँकी रहेका अन्न झार्न मियोको वरिपरि गोरु घुमाएर बाली कुल्चाउने परम्परा थियो,” उहाँले भन्नुभयो, “अहिले गाउँघरमा गोरु पाल्ने चलन घटेको छ। कृषि काममा थ्रेसर र ट्र्याक्टरको प्रयोग बढेकाले परम्परागत दाइँ गर्ने चलन पनि हराउँदै गएको छ।”

गाउँघरमा अर्मपर्म गरेर खेती गर्ने परम्परासमेत कमजोर हुँदै गएपछि कृषि कार्यमा यन्त्रको प्रयोग बढेको औरही नगरपालिका–१ का किसान फेकन यादवले बताउनुभयो। पहिले गाउँका किसान एकअर्काको खेतमा सामूहिक रूपमा काम गर्ने गरे पनि अहिले खेत जोत्न ट्र्याक्टर र अन्न झार्न थ्रेसर मेसिनको प्रयोग बढेको उहाँको भनाइ छ।
आधुनिक कृषि प्रविधिले किसानको समय, श्रम र खर्च बचत गरे पनि यसले गाउँघरको मौलिक कृषि संस्कृति र परम्परागत जीवनशैलीमा परिवर्तन ल्याएको औरही नगरपालिका–२, औरहीका अवकाशप्राप्त शिक्षक सीताशरण यादवको धारणा छ।
उहाँका अनुसार थ्रेसर मेसिनबाट धान चुट्दा उड्ने भुस र धुलोले वातावरणमा असर पार्नुका साथै स्वास्थ्यमा समेत समस्या निम्त्याउन सक्छ। विशेषगरी श्वासप्रश्वाससम्बन्धी समस्या भएका बालबालिका र वृद्धवृद्धालाई धुलोका कारण बढी समस्या हुने गरेको उहाँ बताउनुहुन्छ।
“मेसिनको सहायताले धान चुट्दा उड्ने भुस र धुलोले वातावरणमा नकारात्मक प्रभाव पार्नुका साथै जनस्वास्थ्यमा समेत असर गर्ने गरेको छ,” उहाँले भन्नुभयो, “श्वासप्रश्वासको समस्या भएका बालबालिका र वृद्धवृद्धालाई बढी असर पर्छ। आँखामा धुलो परेर समस्या हुने गरेको पनि देखिन्छ। पहिले खेतमै खलो बनाएर दाइँ गर्दा यस्तो समस्या कम हुने गर्थ्यो।”

कृषि मजदुरको अभाव, युवाशक्तिको विदेश पलायन, गोरुपालनमा आएको कमी र कामदारको ज्याला बढ्दै जानु पनि कृषि यन्त्रको प्रयोग बढ्नुका प्रमुख कारण रहेको किसान बताउँछन्। परम्परागत तरिकाले दाइँ गर्दा धेरै जनशक्ति र समय खर्चिनुपर्ने भएकाले किसान आधुनिक उपकरणतर्फ आकर्षित भएका हुन्।
थ्रेसर मेसिनको प्रयोगबाट छोटो समयमै ठूलो परिमाणमा अन्न झार्न सकिने भएकाले किसानलाई खेतीपातीको काममा सहज भएको छ। अन्न र पराल छुट्याउनसमेत सजिलो हुने भएकाले यसले कृषि कार्यलाई छिटोछरितो बनाएको छ। समय, श्रम र खर्चको बचत हुनुका साथै उत्पादन व्यवस्थापनमा पनि सहजता आएको किसानको अनुभव छ।

यद्यपि, आधुनिक प्रविधिको प्रयोगसँगै गाउँघरमा परम्परागत रूपमा चल्दै आएको दाइँ संस्कृतिसँग जोडिएका सामाजिक र सांस्कृतिक गतिविधि पनि घट्दै गएका छन्। पहिले दाइँ गर्ने समयमा गाउँका मानिस एकै ठाउँमा भेला भएर सामूहिक रूपमा काम गर्ने, आपसमा सहयोग गर्ने र दुःखसुख साटासाट गर्ने चलन थियो। गोरुको घण्टीको आवाज, खेतका खला र सामूहिक श्रमले गाउँघरमा छुट्टै रौनक थप्ने गर्थ्यो।

अहिले कृषि क्षेत्रमा आएको यान्त्रिकीकरणले किसानको दैनिकी सहज बनाए पनि त्यससँगै पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत कृषि सीप र संस्कृतिको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। आधुनिक प्रविधिको उपयोगसँगै मौलिक कृषि परम्परा र त्यससँग जोडिएको सामाजिक सद्भावलाई पनि जोगाउनुपर्ने आवश्यकता देखिएको छ।






