- अमृत कुमार महतो, पशुपतिनगर
महोत्तरीको बर्दिबास नगरपालिका -९, पशुपतिनगर स्थित श्री पशुपति जनउपभोक्ता सहकारी संस्था लिमिटेडका संचालक रामजतन महतोले युरिया मल बिक्री बितरणमा मनपरी मुल्य लिने गरेका छन् ।
किसानहरुका लागि नगरपालिकाले युरिया मल ५० किलो बराबर ९ सय ५२ रुपैयामा बिक्री बितरण गर्न अनुमति दिए पनि ११ देखि १२ सयमा बिक्री बितरण गर्दै आएको पाईएकोछ ।



सहकारीको नाममा कृषकलाई लुटने काम भइरहेको स्थानीय अरुण कुमार महतोले बताए । उनले भने,‘मैले विरोध गर्दा सहकारी संचालकले मलाई गाली गलोज समेत गरे । ग्राहक संग यसरी व्यहवार गर्नु हुन्छ प्रश्न गर्दा उनले धम्की दिदै भने, मलाई कसैले केहि गर्न सक्दैन, जसलाई जहाँ गएर गुनासो गर्नुछ गरे हुन्छ ।’
‘मरै आखा अगाडी अरुलाई युरिया मल दिदै थियो । मेलै माग्दा छैन भन्न थाले पशुपतिनगरका बुधेश्वर महतोले गुनासो पोखे । उनले भने, ‘मनपरी मुल्यमा युरिया मल बेच्ने रामजतन विरुद्ध बोल्न पनि डर छ ।’
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बर्दिबास नगरपालिका – ९, पशुपतिनगरका वडा कमिटी अध्यक्ष समेत रहेका रामजतन महतोले मनपरी मुल्य लिने गरेकोमा नगरपालिकाको पनि मिलोमतो रहेको महतोले आरोप लगाए।
नगरपालिका नै सहकारी संस्थाको संचालकसंग मिलेका कारण कृषकहरु मंहगो मुल्य तिरेर मल किन्नु परेको स्थानीयहरुले गुनासो आउदै गर्दा पत्रकारसंगको कुराकानीमा श्री पशुपति जनउपभोक्ता सहकारी संस्था लिमिटेडका संचालक रामजतन महतोले भने, ‘पहिलाको बाँकी रहेको रकम माग्दा उनीहरुले गलत आरोप लगाए।’
सरकारले तोकेको युरिया मलको मुल्य ७ सय ९९ रुपैया र डीएपी मलको मुल्य २२ सय ४६ रुपैया छ । दुवानी खर्च गरेर बर्दिबास क्षेत्रका लागि युरिया मलको मुल्य ९ सय ५२ रुपैया र डिएपी मलको २४ सय पर्न जान्छ ।
चर्को मुल्यमा बिक्री बितरण गर्ने संस्था प्रति छानवीन गरेर कारवाही प्रकृया अगाडी बढाउने कृषि सामग्री कम्पनी लिमिटेड ढल्केवर धनुषाका क्रमचारी ब्रज चन्दर झाले बताए।




