
धनुषा। धनुषाधाम नगरपालिका–३ बस्ने ओरेक नेपाल धनुषाधाममा कार्यरत मनोविमर्शकर्ता ४० वर्षीया मन्जु महतोलाई गाउँकै १० जनाको समुहमा आएका व्यक्तिहरुले भदौ ८ गते कुटपिट तथा अभद्र व्यवहार गरेको पिडितले आरोप लगाएकी छिन् ।
कुटपिट तथा अभद्र व्यवहार गर्नेमा धनुषाधाम नपा–३ बस्ने ४२ वर्षीय रामशरण कापर, ४० वर्षीय देवशरण कापर, ६० वर्षीया गंगिया देवी कापर, २१ वर्षीय अजय कापर, १८ वर्षीय विवेक कापर, सिरहा जिल्लाको सिरहा नपा–११ घर भई धनुषाधाम नपा–३ बस्ने २५ वर्षीय अनिल कापर, धनुुषाधाम नपा–१ बस्ने ४० वर्षीय रमेश कापरविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा भदौ १० गते उजुरी पिडितले उजुरी दिएको छ ।
आरोपितहरुको कुटपिट तथा अभद्र व्यवहारबाट गम्भिर घाइते भएकी महिलाअधिकारकर्मी मन्जु महतोको प्रादेशिक अस्पताल जनकपुरमा भदौ ८ गतेदेखि उपचार भई रहेको छ । पिडितको छोराले गाउँकै केटीसंग प्रेम भई भगाएकोे आरोपमा आक्रोशित केटी पक्षका परिवारजनले कुटपिट तथा अभद्र व्यवहार गरेको पिडितका श्रीमान प्रमेश्वर महतोले बताए ।
छोराले केटी भगाएको निहुँमा आमा मन्जु महतो र वुवा प्रमेश्वर महतो समेतलाई निर्घात रुपमा कुटपिट गरिएको हो ।
यसैविच, महिला अधिकारकर्मी उपर कुटपिट तथा अभद्र व्यवहार घटना भएपछि इन्सेक प्रदेश २ प्रमुख राजु पासवान, एम्नेष्टि इन्टरनेशनल नेपाल समुह ४६ अध्यक्ष जमुना भुजेल, ओरेक धनुषा संयोजक रोजलिन सिंह बछारलगायतको टोलीले घटनाबारे जानकारी लिई घटनाको सही तथ्य छानविन गरि आरोपितलाई कारवाही गर्न माग गरेको छ । घटनाबारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

