
जनकपुरधाम : देशमा राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र हुँदै अहिले संघीय लोकतान्त्रिक गणतन्त्र आइसक्दा पनि जनता सर्वोपरी हुन सकेका छैनन् । अहिले पनि केही जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडियो) र प्रहरी प्रमुख नै जिल्लाका ‘राजा ‘बनेर बसेका छन् ।
उनीहरुले जिल्लामा आफूले भनेकै कुरा कानून हो र आफूले गरेको कुरा नै सही हो भन्दै मनपर्दी गर्दै हिडेका छन् । पछिल्लो समय यस्तै प्रवृति देखिएको छ महोत्तरीमा ।
आम जनताले गलत कामको विरोध गर्दा पहिले हप्काउने र त्यसले नमान्दा महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले स्थानीयलाई थुनदिएको घटना बाहिरिएको हो ।
यद्दपी व्यापक विरोधपछि साँझमा उनीहरु दुबैजनालाई छाडिएको थियो । उनको यो कार्यको व्यापक विरोध भइरहेको छ ।
आईतवार सदरमुकाम जलेश्वरस्थित मनिपाल कलेजको ३६ विगहा भन्दा बढी जग्गाबाट जथाभावी माटो उत्खनन गराईरहेका बेला स्थानीयहरुले विरोध गर्न जाँदा सिडियो भट्टराईको निर्देशनमा दुई जनालाई थुनिएको थियो ।
तर आलोचनापछि साँझपख भने उनीहरु दुबैलाई छोडिएको थियो ।
करिब ३० वर्षअघि जलेश्वरभित्र पर्ने बजराही, रतवारा, बखरी सहितका गाउँलेहरुको अन्नको भण्डारको रुपमा रहेका करोडौ मुल्यको ३६ विग्हा बढी जग्गा किसानहरुले मणिपाललाई ईन्जिनियरिङ्ग कलेज निर्माणका लागि दिएका थिए ।
प्रत्येक किसानको घरका एक जनालाई निःशुल्क ईन्जिनियरिङ्ग पढाउने सर्तमा मणिपालले किसानहरुको जग्गा मात्र १० हजार प्रतिकट्ठाका दरले लिएका थिए ।
तर अहिलेसम्म मणिपालले त्यहाँ कलेज निर्माण गरेका छैन । तर किसानहरुको बहुमुल्य जग्गा भने बञ्जर बन्दै गएको छ । मणिपालले धेरैजसो संरचना समेत निर्माण गरिसकेको, जग्गाहरुमा माटो पुरिसकेको र खाली जग्गामा २/३ गाउँका बासिन्दाहरुले वस्तुभाऊ चराउने जस्ता कामहरु गर्दै आएका छन् । किसानहरु अझै पनि मणिपालले कलेज निर्माण गर्ने र आफ्ना छोराछोरीहरु ईन्जिनियर बन्ने आशा बोकेका छन् ।
जग्गादाता किसान, नगर प्रमुख अथवा कोही समबन्धित पक्षसँग समन्वय नै नगरी आफ्नो कार्यालयमा माटो पुर्न मणिपालको जग्गाबाट सिद्धबाबा कन्स्ट्रक्सनसँग तालमेल गरेर महोत्तरीका सिडियो भट्टराईले जथाभावी ठूलो खाल्डो खन्न लगाएको स्थानीयको आरोप छ ।
सिडियो भट्टराईले ठूलो गहिरो खाल्डो खनाएका कारण सो स्थानमा ३/४ गाउँबाट दैनिक रुपमा वस्तुभाऊ चराउनका लागि आउने बालबालिका तथा सर्व साधारण डुब्ने खतरा बढेको छ भने सोही खाल्डोमा परेर वस्तुभाऊ पनि दुर्घटनामा पर्ने स्थानीयको भनाइ छ ।
सिडियो भट्टराईले ५०/६० ट्रिपर माटो झिकिसकेको र अझै माटो ल्याउने क्रम जारी रहेको बेला आईतवार वडा नं. ८ बजराही गाउँका किसान तथा जग्गादाताहरु गएर उत्खननको विरोध गर्दा प्रहरी खटाएर उनीहरुलाई लखेटेका थिए ।
त्यसै क्रममा स्थानीय संजीत पाठक र शुभाष झालाई सिडिओको निर्देशनमा पक्राउ गरि जिल्ला प्रहरी कार्यालय महोत्तरीको थुनामा राखेको बताइएको छ ।
‘कुनै गलत कामको विरोध गर्ने जनताको सर्वोपरी अधिकारको सिडियो भट्टराईले आफ्नो तानाशाह प्रवृति देखाउँदै हनन गरेका छन् । उनले अझै पनि देशमा सिडियो र एसपीले चाहेकै कुरा र काम कारबाही हुने र सिडियोले भनेकै कुरा लागु गर्नुपर्ने परिपाटी कायम रहेको देखाउन खोजेका हुन,’ एक स्थानीयले भने ‘महोत्तरीका एसपी दिनेश कुमार आचार्यले मान्छे लखेटेर र समातेर उनको जस्तै पवृति देखाएका छन् ।
सिडियो र एसपी सार्वजनिक सम्पतिको रक्षक बन्नुको साटो भक्षक भएको देखिएको छ भने विरोध गर्नेलाई थुनामा राखेर लोकतन्त्रको उपहास र खिल्ली उडाएको देखिएको छ ।’ सदरमुकाम जलेश्वरको वडा नं. २ मा सिद्धबाबा कन्स्ट्रक्सन काठमाडौंले जिल्ला प्रशासन कार्यालयको लागि नयाँ भवन निर्माण गरेको छ भने सोही कार्यालयको कम्पाउण्डमा माटो पूर्णका लागि सिडियोले मणिपाल कलेज निर्माण स्थलबाट कन्स्ट्रक्सनसँग तालमेल मिलाएर जथाभावी रुपमा माटो उत्खनन गराएका हुन् ।
भवन निर्माणकर्ता सिद्धवाबा कन्स्ट्रक्सनले माटो कहाँबाट ल्याउने, कसरी ल्याउने र जिल्ला प्रशासनको कम्पाउण्ड पूर्णे जिम्मेवारी उसको रहेको अवस्थामा सिडियो भट्टराईले आफ्नो तानाशाही प्रवृति देखाउँदै मणिपाल र किसानहरुको बहुमुल्य जग्गा दोहन गरेका छन् । यस सन्दर्भमा उत्खनन स्थलमा खटिएका सिद्धबाबाका कामदारले आफूहरु सिडियो र जलेश्वरका मेयरबीचको समन्वय पश्चात यहाँबाट माटो उत्खनन गरिरहेको बताएका थिए ।
तर यस विषयमा जलेश्वरका मेयर रामशंकर मिश्रलाई सोधपुछ गर्दा उनले सिडियोले सोधेकोमा त्यो आफ्नो क्षेत्राधिकारभित्र नपर्ने बताए । उत्खननका लागि आफुले आदेश पनि दिन नमिल्ने एसपीलाई जवाफ फर्काएको बताए ।
तर सिडियो भट्टराईसँग यस विषयमा सोधपुछ गर्न जाँदा आफूले शुरुमा मेयरसँग समन्वय गरेर उत्खनन गरेको बताए । तर पछि उनले सिडियोको समेत केहि अधिकार हुने गरेको र सोही अधिकार प्रयोग गरेर त्यहाँबाट उत्खनन गराएको बताए । उनले आफुले गर्ने कामको विरोध गर्नेलाई थुनामा राख्ने अधिकार रहेको प्रतिक्रिया दिए ।स्रोत - जनकपुर प्रेस