
महोत्तरी । प्रहरी चौकी मलिवाराले बुधवार विभिन्न समयमा गरि करिव तिनसय किलो मटर नियन्त्रणमा लिई जलेश्वर भन्सार कार्यालयमा विहिवार बुझाएको छ । नेपाल भारतको विभिन्न सिमानाकाबाट भारत तस्करी गर्न लागिएको सेतो मटर प्रहरीको विभिन्न गस्ती टोलीले समातेको हो । मटर तस्करीको मुख्य मार्गको रुपमा रहेको मलिवारा,सकरी,बथनाहा लगायतको बाटो अत्यधिक प्रयोग हुनेमा अधिकांश मटर ढुवानीकर्ताले रातीको समय र विहानको समय मटर ओसार पसार गर्ने गरेको प्रहरीको भनाई छ ।
पुरुषको तुलनामा बालबालिका र महिलाको अत्यधिक सहभागितामा मटर तस्करी हुने गरेकोमा उनीहरुलाई नै नियन्त्रणमा लिन भने प्रहरीलाई समस्या भएको हो । कोभिडको कारण विगतको समयमा विद्यालयहरु बन्द हुदा र स्थानियहरुले विभिन्न ठाउको रोजगारी गुमाउदा तथा वैदेशिक रोजगारीमा र अन्य स्थानमा काममा जान खोजेका युवाहरु घर वस्नु पर्दा विकल्पको रुपमा ढुवानीकर्ताको काममा उनीहरु लागेको जलेश्वर नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष राम छविला यादव बताउछन ।
उनी मटर तस्करीमा बालवालिकाको प्रयोगले उनको भविष्य अन्धकारमा जान लागेको प्रति चिन्ता व्यक्त गर्दै हामी सवै मिलेर विद्यालय छाडेका बालबालिकालाई पुनः विद्यालय फर्काउनु आवश्यक रहेको बताए ।
उनले निश्चयपनि तस्करी आर्थिक अभावकै कारण वा वढी आम्दानी हुने देखेर गर्ने गरेपनि यसले अलि पछि उनकै भविष्य खराव गर्ने भएकोले सवै तहबाट बालबालिका र महिलालाई ढुवानीको काम छोडाउन पहल गर्नु पर्ने बताए ।
यता शसस्त्र प्रहरी बल नेपाल नं. ९ गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक सुरेश सापकोटाले सिमामा सवै प्रकारका तस्करी नियन्त्रणको लागि शसस्त्र प्रहरी पुर्णरुपमा तैनाथ रहेको बताए । उनले यसै आर्थिक वर्षमा तिनहजार दुईसय किलो सेतो मटरमात्र नियन्त्रणमा लिएको बताए ।
त्यसतै जिल्ला प्रहरी कार्यालय महोत्तरी मातहतका विभिन्न चौकीहरुले चालु आर्थिक वर्षमा छ हजार ४५० किलो सेतो मटर नियन्त्रणमा लिएको छ । झण्डै छ लाख त्रिसठी हजार भन्दा वढीको मटर प्रहरीले भन्सारमा बुझाएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले मटर तस्करीको सुचनाहरु आईरहदा सोहि अनुरुप पक्राउ गर्ने क्रम जारी रहेको र सिमा क्षेत्रका चौकीहरुलाई समेत सोहि अनुसार एलर्ट गराइएको बताए ।
प्राय सिमा नजिकैको कुनै गोप्य स्थान वा वजार क्षेत्रमै विभिन्न व्यापारीक प्रतिष्ठानको विल भर्पाईबाट महोत्तरी ल्याउने गरिएको सेतो मटर साईकल,मोटरसाईकल र टाउकोमै समेत बोकेर सिमा पार गर्ने गरिएको छ ।