
निर्वाचन एउटा लोकतान्त्रिक प्रक्रिया हो । दलहरूका बीचमा चुनाव होस् वा दलभित्रका नेताहरूका बीचमा नेतृत्वमा स्थापित हुने प्रतिस्पर्धा, दुवै अवस्थामा योग्य र अब्बल छनोट गर्ने विधि लोकसम्मत हुनुपर्छ अर्थात् लोकका सहभागितामा ।
राज्यका विभिन्न संस्थाका लागि हुने चुनाव र दलभित्र हुने चुनाव बीचको पृथक्ता भनेको मताधिकारीको मात्र हो । स्वाभाविक रूपमा नेपाली काँग्रेसको विधानअनुसार पार्टी नेतृत्व चयन प्रक्रियामा मतदाता भनेका पार्टीको सर्वोच्च निकाय महाधिवेशनका प्रतिनिधिहरू हुन् । एउटा निश्चित चुनावी चरण पार गर्दै काँग्रेसका महाधिवेशन प्रतिनिधि छनोट अघि बढेको छ । वैधानिक र व्यावहारिक अप्ठ्याराहरू छन् । ती जम्मै जटिलता र विरोधाभासहरूलाई विधानसम्मत, सर्वमान्य र चित्तबुझ्दो तरिकाबाट निपटारा गर्ने जिम्मेवारी पनि मौजुदा नेतृत्वको काँधमा छ । पार्टीको राजनीतिक उत्तराधिकार पूर्ववत् सभापति शेरबहादुर देउवामै निहित रहने वा हटक हुने असल परीक्षा पनि विवाद, असन्तुष्टि र मनोमालिन्यलाई निर्मूल गरेर सार्वभौम मतदाताहरूले नै नेतृत्व चुन्ने वातावरण बनाउनु हो । जसको सम्भावना अत्यधिक न्यून देखिन्छ । र, इतिहास दोहोरिँदै आरोपप्रत्यारोप र विमतिहरूका बीच नै महाधिवेशन सम्पन्न हुने छाँटकाँट छ । यस्तोमा शेरबहादुरका लागि आफूलाई फेरि सभापति बन्न लायक भएको अनुभूति दिलाउन कठिन र दुष्कर कार्य हुनेछ । तर, टाउको गनेर मताधार लेखाजोखा गर्ने र त्यसअनुरूप नै महाधिवेशन प्रतिनिधिका लागि आफ्ना गुटका ‘नेताकार्यकर्ता’ लाई खुड्किलो पार गराउने देउवाशैली अझै कसिलो बन्दै गयो भने योग्यता परीक्षणको लोकतान्त्रिक परिभाषा खुम्चिन बेर लाग्दैन । पुनः एकपटक काँग्रेसी क्षितिजमा वृद्धावस्था टेक्दै गरेका देउवाका लर्खराउँदो पदचिह्नका डोबहरू आगामी पाँच वर्षसम्मका लागि देखिनेछन् ।
समय र परिस्थितिअनुसार काँग्रेस परिवर्तित हुनुपर्छ भन्ने बुझाइ अहिले चुलिएको छ । त्यो भनेको नेतृत्वबाट देउवाको विस्थापन र सही विकल्पको स्थापन हो । पुस्तान्तरणको ‘भाष्य’ बलियो बनाउँदै अहिले देउवाका सट्टामा काँग्रेसका कालजयी नेताहरू बिपी कोइराला, गणेशमान सिँह र महेन्द्रनारायण निधिका पारिवारिक राजनीतिक विरासत बोकेका नेताहरू अघिल्तिर देखिएका छन् । पुस्तान्तरणभन्दा अनुहार परिवर्तनका नाममा पनि रामचन्द्र पौडेलजस्ता नेताहरू देउवाको ठाउँमा आसीन हुन कसरत गरिरहेका छन् । सुहाउँदो र उत्साहवद्र्धक पात्रका रूपमा कल्याण गुरुङले पनि आगामी दिनमा तन्नेरी आँट स्थापित हुने विश्वास दह्रो पार्दै सभापतिका उम्मेदवारी दिन डेग उचालेका छन् ।
तर, पुस्तान्तरणको आवश्यक र आकर्षक नाराबाट अनुमोदित हुने क्रममा विमलेन्द्र निधि, शाशांक र शेखर कोइराला, प्रकाशमान सिँह नै हुन् अहिलेका लागि भन्नेमा दुुईमत नहोला । अनुमोदन भनेको निर्वाचनमा विजयी हुनुमात्र होइन, मतमा हिस्सेदारी हुनु पनि हो । त्यस अर्थमा कथंकदाचित यी व्यक्तिहरूकै बीचमा प्रतिस्पर्धा हुने हो भने विधानले जेसुकै उल्लेख गरे पनि मतविभाजनको अवस्था पनि अनुमोदनकै स्वरूपमा गणना हुनेछ ।
यस आलेखमा निर्वाचनका लागि एकअर्काबीच हुने दोषारोपण र निषेधको कुरा गरिँदैछ । सँयोग नै मानौं, महाधिवेशनको चर्चा उत्कर्षमा पुगेका र प्रक्रिया आरम्भ भएका बेला निधि, कोइराला र सिँह निकै संयमित भएर प्रस्तुत भइरहेका छन् । पौडेलले पनि आफ्नो बोलीबानी विपरीत देउवाको गृहजिल्लामा भएको बेइमानीबाहेक अरू कुरामा चर्का टिप्पणी गर्नबाट परहेज नै गरेका छन् । बरु निधि, कोइराला र सिँहबीचका पटकपटकका भेटवार्ताले देउवाविरुद्ध एउटा ‘शक्तिशाली गठबन्धन’ कुनै बेला पनि बन्न सक्ने वा विभिन्न खेमामा विभाजित नेताहरूको ध्याउन्न देउवाकै मतमा सेँध लगाउने स्थितिको निर्माण हुन सक्ने छनक दिएको छ । देश र पार्टीका कार्यकारी भूमिकामा रहेका देउवासँग जोडतोडको बेतोड अनुभव छ र कुराबाट पन्छिने बानी पनि । उनले सत्ता र शक्तिको प्रभाव महाधिवेशनमा भरपुर देखाउने निश्चित प्रायः छ । जसको प्रतिबिम्बन नै भनौं हिजोसम्म किरिया खाएर निधि, कोइराला र सिँहसँग बसेकाहरूलाई पनि देउवाले कज्याउने र उनीहरू पनि कब्जामा पर्नसक्ने आशंकाबाट भएको छ । निधिको राजनीतिक वटवृक्षमा राजनीतिक जीवनको उकालो लागेका महेन्द्र यादवको देउवालाई सभापति बनाएर जितौरी खाने प्रयत्न होस् वा आनन्दप्रसाद ढुंगानाको अस्पस्टता दुवैको अन्त्र्य भनेको सत्ताको भर्याङमा देउवा एकाधिकारसामु समर्पण नै हो । सिँह पक्षधरहरू पनि उनका लागि खुलेर बोलेका छैनन् । कोइरालाहरूमा ‘पूर्वसंस्थापनको हयाङओभर’ छँदैछ । जसले गर्दा आगामी रणनीतिका बारेमा उनीहरूमा मतैक्य छैन र उनीहरूले विस्थापन गर्न खोजेका देउवाविरुद्ध सशक्त ढंगले अघि आउन सकेका छैनन् । यी परिस्थितिका बीच आफ्नो दृढनिश्चयी अडानले मैदानमा उत्रेका सभापति पदका प्रत्याशी विमलेन्द्रका पक्षमा सबैका समर्थनबाट एउटा माहोल बन्दै गएको छ ।
विमलेन्द्रले सभापति देउवाले सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको र अझै उहाँले आफूलाई सभापति पदमा सहयोग गर्ने विश्वास निरन्तर व्यक्त गरिरहेका छन् । आसन्न महाधिवेशनका लागि देउवाको त्यो प्रतिबद्धताबारे विमलेन्द्रले पटकपटक भनिरहँदा पनि देउवाले आफूले यसो नभनेको प्रत्युत्तर दिन सकेका छैनन् । यसले प्रस्ट हुन्छ आफ्नो समूहका दिग्गज नेताले बोलेका सत्य कुरा गलत भएको भनी देउवा झूटो बोल्न चाहँदैनन् । विमलेन्द्रको उम्मेदवारीको यो नैतिक विजय हो ।
केही दिनअघि सभापति देउवाकी धर्मपत्नी आरजुले भारतीय नेताबाट राखी बाँध्न लगाइन् । राखी राजनीति भारतीय राजनीतिक प्रपञ्चकै अन्धानुकरण हो । उत्तरप्रदेशको राजनीतिमा मायावतीले मुलायम सिँहलाई राखी बाँध्नु चुनावी रणननीतिकै निरन्तरता हो आरजु र सत्तारुढ भारतीय दल बिजेपीका नेता विजय चौथाइवालाबीचको राखी अर्पण-ग्रहण । देशका प्रधानमन्त्रीकी धर्मपत्नीले राखी बाँध्ने ‘रस्म’ का पात्र बन्नुमा चौथाइवाला यसअर्थमा गर्वोन्नत भएनन् होला कि उनले नेपालमा एउटी दिदी वा बैनी बनाए । उनले यसलाई नेपालका कार्यकारी प्रमुखकै निणर्ायक पात्रसँग गहिरो पैठ बनाएको र यसले दुई देशबीचको कुटनीतिक मामिलामा भारतको परम्परागत अग्रता कायम रहेकै अर्थमा विश्लेषण गरेका होलान् । तर, यहाँनेर आरजुको अभीष्ट पनि पूरा भएको छ । नेपालको आन्तरिक राजनीतिमा भारतीय संस्थापनको सदैव प्रभाव रहने कुरालाई बुझेकी आरजुले राखी-कुटनीतिबाट भारतको विश्वास जित्न सकिने र त्यसको सीधा प्रभाव पार्टीको आसन्न महाधिवेशनमा देउवाका लागि मत बटुल्न प्रयोग गर्न सकिने भरोसमा नै गरेकी हुन् । नेपालमा भारतको बाक्लो सञ्जाल छ । तिनका प्रभावबाट कुनै पनि दलका नेताकार्यकर्ता अछुतो छैनन् । उनीहरूमाझ काँग्रेस सभापतिका उम्मेदवारका रूपमा भारतका सबैभन्दा विश्वासिलो देउवा नै भएको भान दिन पनि आरजु राखी-चक्र बनाएकी हुन् भन्ने कुरामा सन्देह छैन ।
यता भारतीय संस्थापनको राजनीतिक सिद्धान्तबाट अनुप्रेरित काँग्रेसको पूर्वसंस्थापन पक्ष हिन्दु राष्ट्रको वकालत गरिरहेको छ । तर, उनीहरूका दृष्टिमा देउवाको भारतीय विश्वास जित्ने यो मेलो नै उनीहरूको मुद्दाको अव्यक्त स्वामित्व देउवाले गर्ने चिन्ताफिकिर देखिँदैन । बरु एउटा कोणले निधिको उम्मेदवारीको पृष्ठभूमिमा भारत रहेको मिथ्या र भ्रामक कुरा फिजाउने र नेपालका सबै दलभित्र विद्यमान भारतनियन्त्रित राजनीतिक धारविरोधी मत सोहोर्ने आकांक्षा छ । यो बुझाइ र भ्रमछराइँ पूर्वसंस्थापन पक्षका लागि घातक हुन सक्छ ।
विमलेन्द्र संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका पक्षधर हुन् भन्ने कुरा उनका अभिव्यक्ति र व्यवहारले पटकपटक प्रमाणित गरिसकेका छन् । त्यसैले उनका पक्षमा हिमालदेखि पहाड हुँदै तराईसम्मका ‘राष्ट्रिय भावना’ मतबाट प्रकट हुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।
देशमा केन्द्रीकृत र एकात्मक शासन प्रणालीका विरुद्ध संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका साथै आत्मसम्मानमा आधारित सन्तुलित वैदेशिक सम्बन्धका पक्षधर विमलेन्द्रका पक्षमा हिमालबाट तराईसम्म फिँजिएका आवाजमा कोइराला र सिँहहरूले साथ दिएमा काँग्रेसमा पुस्तान्तरण सम्भव हुनेछ । र, यसले खुट्टा काम्ने र मस्तिष्क रन्थनिने उमेरका नेतृत्वसँगै बूढो र रुग्न हुँदै गएको काँग्रेसमा जीवन्तता आउनेछ ।
-लेखक सिरहा जिल्लाका पत्रकार हुन् ।