
जनकपुरधाम- पूर्वयुवराज्ञी हिमानी शाहले आज जनकपुरधाम स्थित सकल भवन कन्या माविका विद्यार्थीहरुलाई खानेपानी सामग्री (वाटर फिल्टर बोतल) वितरण गरेकी छिन् ।

हिमानी ट्रष्टले आयोजना गरेको विद्यार्थीहरुको लागि स्कूलमा स्वच्छ र सफापानी खानेपानी पिउनको लागि वाटर फिल्टर बोतल वितरण कार्यक्रममा पूर्वयुवराज्ञी हिमानीले ३७० जना विद्यार्थीहरुलाई उक्त खानेपानी सामग्री वितरण गरेकी हुन् । जसमध्ये १० जना जति अपांग संघ धनुषाका बालबालिकाहरुलाई फिल्टर वितरण गरिएको हो ।

हिमानी आफैले साना बालबालिकाहरुलाई वितरण गरेकी थिईन् ।

पूर्वयुवराज्ञी हिमानी यस कार्यक्रमको लागि आईतवार साँझ नै जनकपुरधाम आईपुगेकी थिईन् । आइतवार उनी विमानस्थलबाट सिधैं जनकपुरधाम स्थित प्रसिद्ध जानकी मन्दिर पुगेर विशेष पूजा अराधना गरेकी थिईन् ।

जानकी मन्दिर प्रशासनले पूर्वयुवराज्ञी हिमानीको स्वागतका लागि मन्दिर झिलीमिली बत्तीले झकिझकाउ बनाउनुका साथै रेड कार्पेट ओछ्याएर उनको स्वागत गरेको थियो।

कार्यक्रम सकेर हिमानी पुनः काठमाण्डौं फर्की सकेकी हिमानी ट्रष्ट धनुषाको सदस्य नितेस मण्डल (सोनु)ले जानकारी दिए ।








