
सिरहा : कानूनतःसम्बन्ध विच्छेदको मुद्दा अदालतले हेर्ने हो । तर, सिरहाको लहान नगरपालिका ५ का वडा अध्यक्ष सुलेमान अन्सारीले वडा कार्यालयमै एक मुस्लिम दम्पतिको सम्बन्ध विच्छेद गराइदिएको घटना सार्वजनिक भएको छ ।
सम्बन्ध विच्छेदको कागज बनाइदिएपछि केटाले अर्को विवह पनि गरिसके । तर, केटी पक्षले कागज भएअनुसार न त दाइजो फिर्ता पायो न न्याय । उनी भने वहुविवाहको निवेदन बोकेर न्याय माग्दै भौतारिरहेका छन् ।
०७५ साउन २० गते लहान नगरपालिका ५ का २३ वर्षीया तबसुम अजमेरीको बिहे भगवानपुर गाउँपालिका २ गम्हरियाँका २८ वर्षीय मोहम्मद नइमसँग भयो । विवाह भएको दुई महिना नबित्दै नइम बैदेशिक रोजगार कतारमा गए ।
‘बिहे भएको महिना दिन नबित्दै घरमा दुःख दिन थाल्यो । पति पनि विदेश गयो । विदेश जान रोक्न खोज्दा पनि मानेन । थाहै नदिई गयो,’ तबसुमले भनिन्, ‘विदेश गएपछि झन सम्पर्क गर्न मानेन । यता, घरमा सासु ससुराले पीडा दिन थाल्यो ।’ उनी माईतमा आएर बस्न थालिन् । पछि गाउँका अगुवाहरुले छलफल गरी सासु ससुरासँगै बस्न पठाएको उनले सुनाईन् ।
‘केही महिना नपुग्दै फेरी पहिलेकै जस्तै दुःख दिन थालेपछि माईत फर्किन्। पति पनि सम्पर्क बिहीन भए । सासु ससुराले धाकधम्की हिंसा गर्न छाडेनन,’ उनले भनिन, ‘मेरो बुबाले गाउँका अगुवा, वडा अध्यक्षलाई घटना मिलाईदिन आग्रह गरे । तर, अगुवाहरुले सम्बन्ध विच्छेदको निवेदन हाल्न लगायो ।’
उनले ०७७ मंसिर ४ गते लहान नगरपालिका ५ को कार्यालयमा निवेदन दिएकी थिइन् । सोही निवदेन अनुसार ०७७ मंसिर ८ गते वडा कार्यालयमा नै सम्बन्ध विच्छेदको कागज बन्यो । त्यतिबेला सम्म तबसुमको पति नइम विदेशमा नै थिए ।
सम्बन्ध विच्छेदको कागजमा बिहेमा दाइजोमा लिएको सम्पूर्ण सामानहरु र नगद फिर्ता गर्नुपर्ने उल्लेख छ । ‘लेखे अनुसार न सामान फिर्ता भयो न नगद, ’तबसुमले भनिन्, ‘कम्तीमा दाइजो फिर्ता लिएर भएपनि आफु अलग बस्न चाहेको छु । बिहेमा नगद ५ लाख दिएको तर, फिर्ता डेढ लाख मात्रै गर्ने सहमति गराएको उनले बताइन ।
गत साउनमा नइम विदेशबाट घर आए । तबसुमले पटक-पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आएका छैनन् । घर आएलगतै नइमले अर्को विवाह पनि गरे । अर्को विवाह गरेको जानकारी पाएपछि आफुले इलाका प्रहरी कार्यालय लहानमा बहुबिवाहको निवेदन दिएको तबसुमले बताइन् । निवेदन दर्ता भने भएको छैन । निवेदन दिएको थाहा पाएर वडा अध्यक्षले मान्छे लगाएर आफुहरुलाई किन प्रहरीमा गएको भनेर दबाब दिएको उनले अन्नपूर्ण पोस्ट्लाई बताइन ।
प्रहरीमा निवदेन परेपछि केटा र केटी पक्ष छलफलका लागि प्रहरी कार्यलय लहानमा गएका थिए । त्यहाँ नइम उपस्थित भएनन् । तबसुमले नइम उपस्थित हुनुपर्ने माग राखिन् । ‘आफुलाई दाइजो फिर्ता दिएपनि कुनै मुद्दामा जाँदिन, ’उनले भनिन्, ‘कति झन्झट र दुःख पाउनु । बरु अलग्गै बस्छु ।’
प्रहरीमा वहुविवाहको निवेदन दिएपनि पीडितकै अनुसार दर्ता नगरिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डाक्टर तपनकुमार दाहालले बताए । ‘निवेदन आएको छ, पीडितले नै अहिले दर्ता नगर्नु भनेपछि रोकिएको हो । छलफलका लागि दुवै पक्षको आएको थियो,’ उनले भने, ‘दाइजो फिर्ता लिएर केटी पक्ष छुटिन चाहेको देखिएको छ। केटी पक्षले दर्ता गर्न भन्ने वितिकै दर्ता हुन्छ। हामीले रोकेको होइन ।’