जनकपुरधाम- लोसपाको प्रदेश २ मा संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् ।
सोमवार दिउँसो देखि चलेको बैठकमा सर्वसम्मतको प्रयास हुन नसकेपछि लोसपाका अध्यक्ष महन्थ ठाकुरले अबेर राती सम्म एक एक सांसदलाई एक्ला एक्लै बाेलाएर उनिहरुको राय ( मत ) बुझेका थिए ।
जस अनुसार सोनलको पक्षमा ९ सांसदले मत दिएका थिए भने प्रदेश सांसद उपेन्द्र महतोको पक्षमा ६ सांसदले मत दिएका थिए । भने एकजनाले तटस्थ बस्ने बताएका थिए । त्यसपछि सोनल संसदीय दलका नेतामा चयन भएको निर्णय लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रदेश सांसद बीच सुनाएका थिए ।
सोनल यसअघि साविकको राजपा नेपालका प्रदेश २ संसदीय दलको नेता थिए । उनी प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका थिए । केही महिनाअघि मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षको भन्दै उनलाई सरकारबाट हटाएका थिए ।