सिरहा । पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजकिशोर यादव प्रमुख अतिथि रहेको एक पार्टी प्रवेश कार्यक्रममा ओरकेष्ट्रा (महिला नर्तकी) नचाएको गुनासो गरिएको छ ।
शनिबार प्रदेश नम्बर २ को सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर ५ मा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथि बनेर गएका यादवकै कार्यक्रममा ओरकेष्ट्रा नचाउँदै युवकहलाई जसपामा प्रवेश गराएका छन् ।
भीड जम्मा गर्नको लागि दिनमै नचाइएको ओरकेष्ट्रासहितको पार्टी प्रवेश कार्यक्रममा नेता यादव पनि सहभागी भए । सोही क्रममा जसपाका नेता सुरेश मण्डल पनि सहभागी भएका थिए ।
ओरकेष्ट्रा नचाउँदै गराइएको पार्टी प्रवेशको क्रममा नेता राजकिशोर यादवले जसपा मुलुककै वैकल्पिक शक्ति बनेको दावी पनि गरे । देशभर जसपामा प्रवेश गर्नेको लहर नै चलेको छ–उनले भने ।
कल्याणपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष दिपेन्द्र यादवको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका वडा सभापति प्रमोद कुमार यादवको अगुवाईमा स्थानीयहरु जसपामा प्रवेश गरेको थियो।
नवप्रवेशीहरुलाई उक्त प्रतिनिधिसभा क्षेत्रका सांसद समेत रहेका नेता यादवले अबिल माला लगाएर स्वागत गरेका थिए । सोही क्रममा ओरकेष्ट्रा समेत नचाइएको थियो ।
पार्टी प्रवेश कार्यक्रम राखिएकोमा स्थानीयहरु जुटाउनकै लागि ओरकेष्ट्रा नचाइएको बताइएको छ । समाजिक सँजालमा यसलाई विरोध गरिएको छ ।
सिरहाकै पत्रकार देव कुमार यादवले –“हुँदा हुँदै पार्टी प्रवेश कार्यक्रममा पनि केटी नचाएर अश्लीलता प्रदर्शन १ कम से कम माननीय ज्यू उपस्थित कार्यक्रम मा यस्ता मनोरञ्जन नगरेको हुन्थियो कि ? भनेर आफ्नो फेसबुकमा टिप्पणी गरेका छन् ।
यता, वडाध्यक्ष दिपेन्द्र यादवले भने त्यस्तो कुनै कार्यक्रम नगरिएको दाबी गरेका छन् । न्यूज ब्यूरोसँगको सँक्षिप्त कुराकानीमा वडाध्यक्ष यादवले केही बेर बर्षाले नै कार्यक्रम प्रभावित भएको तथा कार्यक्रम सम्पन्न भएपछि मात्र नचाइएको बताए ।-समाचार न्युज ब्युरो
https://m.youtube.com/watch?v=lyAtdLX9VLk