महोत्तरी- कुस्ती खेलमा भएको विवादलाई लिएर महोत्तरीमा एक रेफ्रीको घरमा संघातिक आक्रमण तथा लुटपाट भएको छ ।
महोत्तरीको भंगहा नगरपालिका ८ अनारवनका कुस्ती खेलका रेफ्री तथा साहित्यकार श्याम यावदको घरमा शुक्रबार साँझ आक्रमण भएको हो ।
साँझ साढे ७ बजेको समयमा स्थानीय रामछबिला यादव, उनका बहिनी ज्वाइँ महोत्तरी कै लोहारपट्टी नगरपालिका १ बगरकाका वडासचिव सर्वोस यादव, भाई राजिशरण यादव (पहलमान), रामछबिलाका भाई आयुर्वेद स्वास्थ्यकर्मी सुशील यादव लगायतले घरमा आक्रमण गरेर लखौं लुटपाट गरेको पीडित श्याम यादवले बताए ।
पीडित श्याम यादवका अनुसार ६५।७० जनाको समूहमा भाटा, घरेलु हतियार सहित आएका उनीहरुले घरमा तोडफोड गरि आक्रमण गर्दै घर भित्र पसेर गरगहना र नगद सहित पाँचलाख भन्दा बढीको सरसमान लुटेर लगेका हुन् । अढाइ तोला सुन र १ लाख ९६ हजार रुपैयाँ लुटेर उनीहरुले लगेको श्याम यादवको आरोप छ ।
आक्रमणबाट श्याम यादवका दाई सुरेन्द्र यादव र रामबाबु यादवलाई चोटपटक लागेको छ । घरका अन्य सदस्यहरु घर भित्र लुक्दा बाँच्न सफल भएको पीडित श्यामले बताए ।
आक्रमण गर्ने पक्षले शनिबार बिहान श्याम यादवको ज ८ प ४७०९ नम्बरको मोटरसाइकल समेत खोसेका छन् । श्यामका भतिज औषधि ल्याउन पररिया गएको बेला रामछबिला पक्षले मोटरसाइकल खोसेको श्याम यादवले बताए ।
घरमा आक्रमण भएको घटनाको प्रहरीचोकी लोहारपट्टीले पुष्टि गरेको छ । प्रहरीचोकीका इन्चार्ज सई रामकुमार यादवले श्याम यादवको घरमा अक्रमण भएको र त्यसबाट क्षति समेत भएको बताए ।
बाकसहरु तोडफोड भएको समेत आफुहरु घटनास्थलमा पुगेर हेरेको प्रहरीको भनाइ छ । ती पक्षले मोटरसाइकल समेत खोसेको र मोटरसाइकल नियन्त्रणमा लिएर बुझाएको सइ यादवले बताए ।
पीडित परिवारले आफुहरुलाई सुरक्षा दिनुको साटो प्रहरीले उल्टै आएर धम्काएको आरोप लगाएको छ ।
घटना बटेश्वर गाउँपालिका वडा नंं. ५ स्थित दुर्गा पुजाको अवसरमा आयोजन भएको कुस्ती खेलमा रेफ्रीको विवादलाई लिएर भएको बुझिएको छ । कुस्ती खेलमा लोहारपट्टी नगरपालिका १ का वडाध्यक्ष राजिशरण यादव पहलमान रेफ्री थिए । त्यस अघि श्याम यादव रेफ्री रहेका थिए । राजिशरण यादवलाई कुस्ती खेल आयोजक समितिले हटाएका थिए । आयोजकले रेफ्रीबाट हटाए कै निहुमा आफ्नो घरमाथि राजिशरणको समूहले आक्रमण र लुटपाट गरेको पीडित श्याम यादवले बताए ।
महोत्तरीका एसपी दिनेश आचार्यले दुई पक्षबबीच मेलामा भएको विवादकोे विषयमा नै पुन : गाउँमा बिबाद भएको बताए ।
सई यादवका अनुसार दुबैपक्ष बिच लामो समय देखि मुद्दा मामिला तथा दुश्मनी चलिरहेकोले मेलाबाट फर्केपछि बिबादको क्रममा यस्तो घटना भएको हुन सक्छ।
घटना पश्चात जिल्ला प्रहरीबाट दुबै पक्षलाई पठाउन निर्देशन आएकोले सोहि अनुसार गर्ने उनले बताए ।




