
ढल्केवर। धनुषाको ढल्केवरस्थित महेन्द्र माध्यमिक विद्यालयको व्यवसायिक भवनको बुधवार उद्घाटन गरिएको छ । मिथिला नगरपालिकाको ढल्केवरस्थित पश्चिम उत्तरतर्फको पार्क नजिकै विद्यालयले बनाएको सो व्यवसायिक भवनको दिपावलीको पूर्व संन्ध्यामा उद्घाटन गरिएको छ । महेन्द्र मा.वि. ढल्केवरका प्राधानाध्यापक रामकुमार महतोको अध्यक्षता तथा मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोको प्रमुख आतिथ्यमा सो भवनको उद्घाटन गरिएको छ ।
व्यवसायिक भवनको उद्घाटन गर्दै नगर प्रमुख महतोले विद्यालयको समग्र विकास र उत्थानमा व्यवसायिक भवनले सहजता ल्याउने बताएका छन् । विद्यालयको आम्दानीको स्रोतको रुपमा चौकमा निर्मित व्यवसायिक भवनको सटर भाडाले विद्यालय संचालनमा आर्थिक रुपले सहजता ल्याउने र शैक्षिक विकासमा टेवा पुग्नेप्रति आफु विश्वस्त रहेको नगर प्रमुख महतोको कथन थियो ।
हाल एक तल्ला मात्र रहेको सो भवनमा अर्को तल्लाको निर्माण कार्य पनि चाँडै हुने उहाँले जानकारी दिनुभयो । ढल्केवरको मुख्य चौकमै महेन्द्र माविकै नाउँमा दर्ता कायम रहेको २ कठ्ठा १३ धुर क्षेत्रफल जग्गामा निर्माण गरिएको छ । राउण्डमा बनाएको सो व्यवसायिक भवनमा चारैतिर गरी २२ वटा सटर रहेको छ । जसमा २१ वटा सटर भाडामा लगाइएको छ, भने एउटा सटर विद्यालयलले स्टोरको रुपमा राखेको विद्यालयले जनाएको छ ।
महेन्द्र मा.वि. व्यवसायिक भवन निर्माणका लागि मिथिला नगरपालिकाले रु.एक करोड रुपैयाँ सहयोग गरेको छ । यस्तै अपुग रकम सटर भाडामा लिएका २१ जना व्यवसायीहरुबाट धरौटी वापत लिएको रकमले भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक रामकुमार महतोले बताएका छन् । हाल सो व्यवसायिक भवनमा प्रति सटरको भाडा साइज अनुसार ७ हजारदेखि १२ हजार रुपैयाँ मासिक कायम गरिएको छ ।
सो भवनमा पहिला त्यहि खाली जग्गामा व्यापार व्यवसाय गर्दै आएका व्यापारीहरुलाई प्राथमिकताका राखेर सटर भाडामा दिएको प्रअ महतोले जानकारी दिएका छन् । यता भवनको उद्घाटन समारोहमा विद्यालयका छात्राहरुले नृत्य कार्यक्रम प्रस्तुत गरेकी थिईन् । त्यस्तै सो कार्यक्रमको संचालन निल प्रसाद शर्माले गरेका थिए ।

