बर्दिवास । मधेश प्रदेशमा महिलाको भूमिका परम्परागत रूपमा घरायसी कामकाज, विशेषगरी चुल्होचौकोमै सीमित रहेको धारणा अझै सुनिन्छ। तर पछिल्ला वर्षहरूमा यही धारणा बदलिँदै गएको छ। सहकारीमार्फत कृषि तथा पशुपालन क्षेत्रमा सक्रिय बनेका मधेशका महिलाले सामाजिक र आर्थिक सशक्तीकरणको नयाँ उदाहरण प्रस्तुत गरेका छन्।
महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा र बारा जिल्लामा स्थापित महिला सामाजिक उद्यमी सहकारीहरूमा आबद्ध महिलाहरूले पशुपालन, तरकारी खेती तथा कृषि उत्पादनको बजारीकरणमार्फत सफल उद्यमीको पहिचान बनाएका छन्। अन्तर्राष्ट्रिय सामाजिक संस्था हेफर इन्टरनेशनलले यी महिलालाई प्राविधिक सहयोग, लगानी अवसर र उद्यमशीलताको प्रेरणा प्रदान गर्दै आएको छ।




महोत्तरीको बर्दिबास–१० र ११ क्षेत्रमा कार्यरत ज्योति महिला सामाजिक उद्यमी सहकारीकी अध्यक्ष चनावती श्रेष्ठका अनुसार पहिले महिलाहरूले घरबाहिरको संसारबारे सोच्न पनि सकेका थिएनन्। अहिले भने सहकारीमार्फत गाई–भैंसी, बाख्रा र बङ्गुरपालन, उपभोक्ता पसल सञ्चालन तथा पशुचौपायाका लागि घाँसको बीउ उत्पादनजस्ता काममा महिलाहरू व्यस्त छन्।

सहकारीकी सचिव सरस्वती विश्वकर्माका अनुसार यस वर्ष मात्रै सहकारीका सदस्यहरूले एक हजारभन्दा बढी खसी बिक्री गरिसकेका छन् भने सहकारीअन्तर्गत तीन हजारभन्दा बढी खसी पालिएका छन्। २५ जना महिलाबाट सुरु भएको सहकारीमा अहिले १ हजार ३७८ सेयर सदस्य पुगेका छन्।
सर्लाहीको हरिपुर महिला सामाजिक उद्यमी सहकारीले सदस्यहरूलाई भैंसीपालनका लागि ऋण सुविधा उपलब्ध गराउँदै दूध उत्पादनलाई प्रोत्साहन गरेको छ। २०६७ सालमा स्थापना भएको यस सहकारीमा हाल ८७४ सेयर सदस्य छन्। सहकारीको कुल कारोबार सात करोड रुपैयाँभन्दा बढी पुगेको छ भने सदस्यहरूको बचत तीन करोड नौ लाख २८ हजार रुपैयाँ रहेको अध्यक्ष मञ्जु चौधरी थारुले जानकारी दिइन्।
उनका अनुसार सहकारीका सदस्यहरूले भैंसी र बाख्रापालनलाई मुख्य व्यवसायका रूपमा अपनाएका छन्। हालै सम्पन्न बकर ईद पर्वमा मात्रै दुई हजार ५०० खसी बिक्री भएको थियो भने फागु र दसैंमा थप तीन हजार खसी बिक्री गरिएको थियो। सहकारीले सदस्यबाट दूध संकलन गरी विभिन्न दुग्धजन्य परिकार उत्पादन तथा बिक्री गर्दै आएको छ।
सर्लाहीकै लालबन्दी–१६ मा रहेको न्यू उदय महिला सामाजिक उद्यमी सहकारीले पनि उल्लेखनीय सफलता हासिल गरेको छ। २०७८ सालमा २५ महिलाले सुरु गरेको सहकारीमा हाल १ हजार ३० सेयर सदस्य आबद्ध छन्। सहकारीकी व्यवस्थापक शर्मिला मोक्तानका अनुसार विदेशबाट फर्किएका युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले विशेष कार्यक्रम सञ्चालन भइरहेको छ। पछिल्लो एक महिनामा मात्रै सदस्यहरूले १ हजार २०० खसी बिक्री गरेका छन्। साथै दैनिक ८०० लिटरसम्म दूध संकलन गरी दुग्धजन्य उद्योग सञ्चालन भइरहेको छ।

रौतहटको गजुरा–३ मा सञ्चालित आरम्भ महिला सामाजिक उद्यमी सहकारी पनि कृषिमा आधारित उद्यमबाट राम्रो आम्दानी गरिरहेको छ। खसीपालन, मासु बिक्री तथा निगुरोको सागको बजारीकरणमार्फत आम्दानी गरिरहेको यस सहकारीमा ३५४ महिला आबद्ध छन्। चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म दुई हजार ५०० खसी बिक्री भइसकेको अध्यक्ष पूनम चौधरी थारुले बताइन्।
उद्यमशील महिलाहरूका अनुसार परिवार र समुदायको सहयोगले कृषि तथा पशुपालन व्यवसायमा थप उत्साह मिलेको छ। बर्दिबास–११ का सामाजिक अगुवा चन्द्रलाल गौतमका अनुसार अवसर र उचित सहयोग पाए महिलाले जुनसुकै क्षेत्रको जिम्मेवारी सफलतापूर्वक सम्हाल्न सक्छन् भन्ने कुरा मधेशका महिला उद्यमीहरूले प्रमाणित गरेका छन्।
हेफर इन्टरनेशनलले सहकारीमार्फत महिलाको व्यवसाय विस्तार र दिगोपनाका लागि आवश्यक साझेदारी तथा लगानीका अवसर जुटाउन सहयोग गर्दै आएको छ। जनकपुरस्थित क्षेत्रीय कार्यालयले पूर्वी नेपालका १२ जिल्लामा रहेका महिला सामाजिक उद्यमी सहकारीहरूसँग समन्वय गरिरहेको छ, जसमध्ये छ जिल्ला मधेश प्रदेशका छन्।

मंगलबार बर्दिबासमा सम्पन्न योजना तथा लगानी सम्मेलनमा सहकारी प्रतिनिधिहरूले हालसम्मका उपलब्धि, चुनौती र भावी योजना प्रस्तुत गरेका थिए। सम्मेलनको मुख्य उद्देश्य सहकारीहरूको व्यवसाय विस्तार, उद्यमशीलता विकास तथा लगानीकर्तासँग प्रभावकारी पहुँच विस्तार गर्नु रहेको महिला सामाजिक उद्यमी सञ्जाल वागमती प्रदेशकी उपाध्यक्ष होमकुमारी ठकुरीले बताइन्।
हेफर इन्टरनेशनलको समन्वयमा रहेका १२ जिल्लाका महिला सामाजिक उद्यमी सहकारीहरूमा हाल करिब ६२ हजार महिला आबद्ध छन्। तीमध्ये २० हजारभन्दा बढी महिला मधेश प्रदेशका रहेको क्षेत्रीय प्रमुख दिपेश पोखरेलले जानकारी दिए। उनका अनुसार महिलाहरूले देखाएको सक्रियता र उपलब्धि उत्साहजनक छ।
सामाजिक अभियन्ता सरस्वती चौधरीका अनुसार परिवार, समाज र सम्बन्धित निकायबाट निरन्तर सहयोग र समन्वय प्राप्त भए सहकारीमार्फत महिलाले अझ ठूलो आर्थिक तथा सामाजिक उपलब्धि हासिल गर्न सक्नेछन्।
महिलाको सहकारी गतिविधिमा बढ्दो सहभागितासँगै स्थानीय विकासका विभिन्न विषयमा उनीहरूको सक्रियता पनि वृद्धि भएको हेफर इन्टरनेशनल नेपालका फोकल पर्सन मन्दारवा पौडेलले बताइन्।उनले आयोजकको तर्फबाट कार्यक्रम सफल बानाउन सहयोग गर्ने सम्पूर्ण सहभागी मूल्यांकनकर्ता तथा सरोकारबालाहरुलाई धन्यवाद समेत व्यक्त गरिन् ।




