महोत्तरी- दीपावली लगतै तराई-मधेशमा छठ पर्वको तयारी सुरु भएको छ ।
दीपावलीमा माटोका मौलिक पाला र दियोको बिक्री उच्च रहेको तराई-मधेशका क्षेत्रमा आगामी बुधवार मनाइने छठका लागि केराको बिक्रि बढेको छ ।
सूर्यदेवको अराधना, उपसना र पूजाको यो पर्वमा केरा, उखु, नरिवल लगायतका फलफूल, वासद्वारा निर्मित नाङ्लो, ढकी, चंगेरी आवश्यक पर्छ ।
त्यसैगरी, माटोबाट निर्मित पाला, हात्ति, घैला लगायत सामग्री र महिलाले लगाउने वस्त्र चाहिन्छ । पर्वमा यी सामाग्रीको खरीद बिक्रीले राम्रो कारोबार पाउँछ ।
छठ पर्वमा अर्घका रुपमा ठेकुवा, भुसुवा रहे पनि फलफूलको रुपमा केरालाई नै मुख्य मानिन्छ । यस पर्वमा केरा सिंगै घरी नै चढाइन्छ ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरी मनाइने यो पर्वमा फलफूलको रुपमा मुख्य मानिने केराको माग अहिले मधेसमा उच्च छ ।
महोत्तरीका औरही बजार ,गौशाला बजार लगायत विभिन्न हाट बजार त्यही मुख्य फल केराले भरिएका छन् । व्यापारीका अनुसार यो पर्वमा जिल्लामा एक करोड रुपैयाँ बढीको केरा कारोबार हुन्छ । केराको माग उच्च हुँदा उपभोक्ता भने महंगो मूल्य तिर्न बाध्य छन् ।