जनकपुरधाम - धनुषाको जनकपुरधाममा दुई समुदाय बिच भएको विवादलाई लिएर लगाइएको निषेधाज्ञाको अवधि थप गरिएको छ।
प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले आइतवार जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० मा आईतवार राती १० बजे सम्मको लागि लगाएको निषेधाज्ञालाई बढाएर मंगलबार राति १० बजेसम्मको थप गरिएको निणर्य भएको जानकारी दिए।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० मा छठ पर्वको घाट बनाउने विषयमा हिन्दु मुस्लिम समुदाय बीच विवाद भएको थियो । सोही विवादले शनिवार उग्ररुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।
प्रजिअ बास्तोलाले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै मंगलबार राति १० बजेसम्म निषेधाज्ञा बढाइएको जानकारी दिए । पूर्वमा जलाद नदीको कल्री बाँध, पश्चिममा जनकपुर-जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ ।
के रुपैठाको विवादको कारण ?
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २०मा पर्ने देवपुरा रुपैठामा भएको हिन्दु मुृस्लिम बिचको विवाद कुनै नयाँ विषय होइन । यहाँ प्रत्येक वर्ष हिन्दु धर्माबलम्बीहरु दशैँ पर्वमा मूर्ती सेलाउने क्रममा होस वा इस्लाम धर्माबलम्बीहरुले ताजिया दाहा खेल्ने क्रममा प्रत्येक वर्ष त्यहाँ हिन्दु मुस्लिम बिच साम्प्रदायिक विवाद हुँदै आईरहेको छ ।
यस वर्ष दशैँमा त्यहाँ कुनै अप्रिय घटना नहुँदा स्थानीय खुशी थिए तर त्यो खुशी छठ पर्व आउँदासम्म समाप्त भयो र पुनः ठूलो विवाद भयो ।
रुपैठामा हिन्दु धर्माबलम्बीहरु तेलिया पोखरीमा छठ पर्व प्रत्येक वर्ष मनाउँदै आईरहेका छन् । सोही पोखरीको डिलभन्दा केही पर मुस्लिम समुदायका व्यक्तिहरु समेत वसोवास गर्छन् ।
२४ गते छठ पर्वका दिन घाट निर्माणकै क्रममा एकाएक दुई समुदाय बिच वाकयुद्धबाट शुरु भएको विवाद झडपमा परिणत भएको एक स्थानीयले बताए । त्यो दिन झडपमा परेर ४ जना घाइते भएका थिए । त्यो दिन प्रहरीले जसोतसो स्थितिलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए ।
त्यसपछि शनिबार केही हिन्दुवादी संगठनहरु प्रदर्शन गर्दै रुपैठामा पुगेपछि फेरी हिन्दु मुस्लिम समुदाय बिचको विवाद सुरु भएको थियो।
शनिबार मुस्लिम र हिन्दु समुदाय वीच विवाद झडपको श्रृृजना भयो । झडपको क्रममा दुई समुदायबिच ढुंगामुढा हुँदा ३ प्रहरी सहित ४ जना घाइते भए । घाइते हुनेहरुमा एकजना नेपाल प्रहरी, २ जना सशस्त्र प्रहरी र एक महिला रहेको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए ।
स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले एक दर्जनभन्दा बढी राउण्ड अश्रु ग्याँस समेत प्रहार गर्नु परेको र निषेधाज्ञा जारी गर्नुपरेको थियो।
रुपैठामा एक समुदायले अर्को समुदायलाई दबाएर राख्ने पटक पटक प्रयास गर्दै आईरहेकाले त्यहाँ हुने धार्मिक कार्यक्रमहरुमा प्रत्येक वर्ष विवाद हुँदै आई रहेको त्यहाँका स्थानीय बताउँछन् । आफ्नो वर्चस्व कायम गर्नकै लागि यस प्रकारको विवाद हुने गरेको उनीहरुको भनाई छ ।
जनकपुरधाम उपमहानगरपालिकाको मातहतमा रहेका सो तेलिया पोखरीलाई आधि आधि क्षेत्रमा दुबै समुदायलाई प्रयोग गर्न भनि केहि वर्ष पहिले सहमती भएको थियो । तर तेलिया पोखरीलाई चारैतिरबाट दुवै समुदायले अतिक्रमणमा पारेका छन् । जनकपुरधाम उपमहानगरपालिकाको मातहतमा रहेका सो पोखरीलाई जिर्णाद्धार गर्न नसक्दा दुवै समुदायका व्यक्तिले अतिक्रमण गरेर बसेको कारण विवाद हुँदै आएको विवाद हुँदै आएको वडाध्यक्ष भोगेन्द्र झाले बताए।
उनले यसमा प्रमुख दोषी जनकपुरधाम उपमहानगरपालिका रहेको भन्दै पोखरीलाई व्यवस्थापन गर्न अतिक्रमण मुक्त नगरेसम्म विवाद कायमै रहने बताए ।
प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले दुबै पक्षका प्रतिनिधिलाई बोलाएर शनिवार जिल्ला प्रशासन कार्यालयमा छलफल गराइएको र अब देखि कुनै किसिमको विवाद, लडाई झगडा नगर्ने, आफ्नो आफ्नो चाडपर्व शान्तिपूर्ण ढंगले मनाउने सहमती भएको जानकारी दिए ।
प्रजिअ बास्तोलाले यद्यपी पोखरीको विषयमा नगरपालिकाका प्रतिनिधिको अनुपस्थितीको कारण केहि निणर्य नभएको र चाडै नै उक्त समस्या समाधानको लागि नगरपालिकाका प्रतिनिधि, मेयर सहितको दुबै पक्षलाई राखेर छलफल गराउने तयारी थालिएको बताए ।