जनकपुरधाम।प्रदेश २ मा अहिले नेपाली कांग्रेसको वडा, स्थानीय तह, क्षेत्र, प्रदेशको अधिवेसन भइ रहेको छ । कतिपय ठाउँमा कांग्रेस महाधिवेसन अन्तर्गत वडा अधिवेसनहरु पनि विवादित बनेको छ ।
यस्तै विवादको कारण धनुषाको औरही गाउँपालिकाका कार्यकर्ताले वडा अधिवेसन मै धाँधली भएको भन्दै बिरोधमा उत्रेका छन् ।
उनीहरु अहिले कांग्रेसको जनकपुरधाम स्थित जिल्ला पार्टी कार्यालयमा रिले अनसन शुरु गरेका छन् । औरही गाउँपालिकाको वडा नम्बर १ मा धाँधलीपूर्ण तरिकाले पदाधिकारीको चयन गरिएको भन्दै उनीहरुले रिले अनसन शुरु गरेका हुन् ।
उनिहरुले नेतृत्वले आफूहरुको माग सम्बोधन नगरे आमरण अनसनमा उत्रने चेतावनी दिएका छन् । ‘वास्तविक कार्यकर्तालाई वाइपास गरी पदाधिकारी चयन गरिएको छ,’ पार्टीका युवा नेता जगदीश चौधरीले भने, ‘जुन धाँधलीपूर्ण काम गरिएको छ, त्यसलाई बदर गर्नु जरुरी छ ।’
उनले धाँधलीपूर्ण काम बदर नगरिए आफूहरु भोक हड्तालमा उत्रने चेतावनी दिए । कांग्रेसमा देखिएको विवादले कार्यकर्ता निराश बनेका छन् ।