जनकपुरधाम- प्रदेश २ सरकारको मन्त्री परिषद आज विस्तार भएको छ । प्रदेश सरकारमा आज देखि नेकपा एकीकृत समाजवादीबाट दुई जना मन्त्री सहभागी भएका छन् । नवनियुक्त दुई जनामन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरि औपचारिक रुपमा कार्यभार सम्हालेका छन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्राले मुख्यमन्त्री लालबाबु राउतद्वारा नवनियुक्त उद्योग , पर्यटन तथा वन मन्त्री शत्रुधन महतो र कानून , न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद कुमार यादवलाई पद तथा गोपनीयताको सपथ गराएका छन्।
नेकपा एस संग मन्त्रालय र मन्त्रीको टुंगो नलाग्दा लम्बिएको थियो । नेकपा एसलाई सरकारमा सहभागी गराउनको लागि मुख्यमन्त्री राउतले आफ्नै दल जनता समाजवादी पार्टीका मन्त्री रामनरेश रायलाई गत साता बर्खास्त गरेका थिए ।
नव नियुक्त मन्त्रीहरुमा धनुषा निर्वाचन क्षेत्र नं. ४(ख) बाट निर्वाचित शत्रुधन महतो संविधानसभाका बेला संघीय सरकारका स्थानीय विकास राज्यमन्त्री समेत भएका थिए । सिरहा निर्वाचन क्षेत्र नं. ३ (ख) बाट प्रदेश सांसद जितेका यादव अर्को मन्त्रालयको जिम्मेवारी पाएका हुन् । प्रदेशसभामा नेकपा(एस)को १३ जना सांसद छन् ।
केन्द्रमा बनेको गठबन्धन अनुसार प्रदेशमा जसपा नेतृत्वको सरकारमा कांग्रेस, माओवादी र नेकपा(एस)लाई सहभागी गराइएको हो ।
प्रदेश सरकारमा जसपाले मुख्यमन्त्री सहित अर्थ, समाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी गरी ४ मन्त्रालय, कांग्रेसले भौतिक पूर्वाधार, उर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद गरी तीन मन्त्रालय र माओवादी (केन्द्र) आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय पाएका छन् । नेकपा(एस)लाई पनि भागबन्डा मै दुई मन्त्रालय दिइएको छ ।