
चितवन। अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला समिति चितवनले १०औँ राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल गरेको छ ।
आज भरतपुरमा आयोजित कार्यक्रमा अनेमसंघ केन्द्रीय प्रचार विभाग प्रमुख शर्मिला कार्कीले महाधिवेशनमा महिलाहरुको सहभागिता राम्रो रहने बताउनुभएको छ । उहाँले प्रतिनिधिका रुपमा चितवन आउने महिलाहरुको खानपान, सुरक्षा र स्वाथ्यको विषयमा अनेमसंघ गम्भीर भएको बताउनुभयो ।
कार्यक्रममा अनेमसंघ सचिवालय सदस्य एवं पूर्वमन्त्री सरस्वती बस्नेतले चितवनमा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन हुने चितवनका लागि अवसर सँगै चुनौती भएको बताउनुभयो । उहाँले महाधिवेशनमा धेरै भन्दा धेरै महिला सहभागी गराउनेतर्फ तयारी थाल्नुपर्नेमा जोड दिनुभयो ।
महाधिवेशनमा आउने सहभागीलाई अनेमसंघको तर्फबाट स्वागतद्वार मार्फत स्वागत गर्ने तयारी भइरहेको बस्नेतले बताउनुभयो ।अनेमसंघको केन्द्रीय कमिटी, प्रदेश कमिटी र स्थानीय तहको गरी तीन स्थानमा स्वागतद्वार राख्ने निर्णय भएर काम अगाडि बढाइएको अनेमसंघकी केन्द्रीय सदस्य शान्ति अधिकारीले जानकारी दिनुभयो ।

