जनकपुरधाम = यस पटक मङ्सिरको पहिलो सातामा नै बाक्लो कुहिरो लाग्न थालेपछि हवाई उड्डयन प्रभावित हुन थालेको छ ।
हिजो दिउँसो देखि बाक्लो कुहिरो लागेर मौसममा खराबी आएपछि चिसो पनि बढ्न थालेको छ । बिहान देखि दिउँसो १२ बजेसम्म बाक्लो कुहिरो लागेका कारणले जनकपुर– काठमाडौँ तथा काठमाडौँ–जनकपुर हवाई सेवा प्रभावित बनेको छ ।
बिहान देखि हुने उड्डयन दिउँसो १ बजे मात्र सफल भएको नेपाल नागरिक उड्डयन कार्यालय जनकपुरधामले जनाएको छ । विमान अवतरणका लागि चाहिने भिजिबिलिटी नभएका कारणले दिउँसो १२ बजेपछि मात्र विमानस्थल खुलेको कार्यालयले जनाएको छ ।
बाक्लो हुस्सु सँगैको कुहिरोका कारणले सडक मार्ग भएर सवारी साधन सञ्चालनमा समस्या भएको सवारी चालकहरूले जनाएका छन् । गत वर्ष यस्तो प्रकारको बाक्लो कुहिरो पुसमा गएर लाग्ने गरेको भएपनि यस पटक मङ्सिरको पहिलो सातामा नै सुरु भएको छ ।
लगातार रुपमा बाक्लो कुहिरो लाग्यो भने तेलहन तथा दलहन बालीमा क्षति पुग्ने अवस्था रहेको पनि कृषि ज्ञान केन्द्र धनुषाले जनाएको छ ।